धरान: धरानका भुमिहिन सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरणको लागि निस्सा वितरण कार्य शुरु गरिएको छ । 

मंगलबार धरानको वडा नं १३ स्थित राई टोलका भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण गरिएको हो । धरान उपमहानगरपालिकाको आयोजना तथा राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुनसरीको समन्वयमा निस्सा वितरण गरिएको हो । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले राई टोलका बासिन्दालाई निस्सा वितरण गरेका थिए । यस्तै, जग्गा नाप नक्साको लागि आवश्यक सामग्री पनि प्राविधिकहरुलाई मेयर साम्पाङले वितरण गरेका छन् ।

मेयर साम्पाङले अब प्राविधिक (अमिन)हरु जग्गा नापजाचको लागि वस्तीमा आउने भएकोले घरमा बसेर सहयोग गर्न आग्रह पनि गरे । नगरपालिकाले निस्सा दिएर चुपचाप नबस्ने भन्दै उनले काम चाडो सम्पन्न गराउन दबाब दिने पनि बताए । सुकुम्बासीहरुलाई आश्वासन मात्र दिएर नहुने भन्दै उनले अब भुमीमाथिको अधिकार दिनैपर्ने पनि बताए । साथै, मेयर साम्पाङले पुर्जा पाउने बित्तिकै बेचेर अर्कोतिर जाने सोच नबनाउन पनि आग्रह गर्दै खोलाको बहाव क्षेत्रमा घरटहरा बनाउन नबस्न पनि आग्रह गरे । 

sukumbasi1

उपमेयर बेघाले लगत संकलन भएर निस्सा वितरण भइरहेको र त्यसपछि धनीपुर्जा वितरणको काम शुरु हुने बताए । केही आशंका र प्रश्नहरु उठ्ने गरेपनि सरकारले कानुनमै व्यवस्था गरेर धनीपुर्जा वितरण गर्ने भनेर कार्यान्वयनमा अघि बढीसकेकोले विगतमा जस्तो अलमलाउने काम नहुने र पुर्जा वितरण भएरै छोड्ने बताए । लामो समय वितरण नहुदा जनता आक्रोश हुनु स्वभाविक भएको भन्दै उनले अब त्यस्तो नहुने बताए । 

कुनै पार्टी, व्यक्तिको काम नगरेको भन्दै उनले जनतालाई न्याय दिनको लागि काम शुरु भएको र सहजीकरण गर्न सबैले सहयोग गर्नुपर्ने बताए । रातो र स्रेस्ता कायम भएकै धनीपुर्जा पाउने पनि उपमेयर बेघाले जानकारी दिए । उनले धरानलाई सुकुम्बासीमुक्त अभियानमा सरकार लागिपरेको पनि बताए । 

sukumbasi2

फोकल व्यक्ति वेद सापकोटाका अनुसार लगत संकलन भएका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको लगत कम्प्युटरमा प्रविष्ट गरेपछि निस्सा वितरण गरिएको बताए । धरानमा पहिलो चरणमा १३ हजार ३१० परिवारले फारम भरेको र अहिले १३ हजार २६ घरधुरी दर्ता भएको तथ्यांक रहेको उनले जानकारी दिए । 

भिडियो :