धरान: धरान ८ मा हिजो (बिहिबार) बेलुका ज्वाँईले सासु आमालाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् भने आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् ।

धरान ८ गुम्बा मार्गमा ७१ बर्षीया सासु नरमाया भुजेलाई उनको ज्वाँई ४१ बर्षीय रामबहादुर रम्तेलले टाउकोमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट नरमाया गम्भीर घाइते भएकी छिन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकी विराटनगर रिफर भएको प्रहरीले जनाएको छ । 

यता, सासुलाई खुकुरी प्रहार गरेपछि रामबहादुरले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको घर भोजपुरको पौवादुम्बा गाउँपािलका ५ सानोदुम्मा हो । 

वडा नं ८ का अध्यक्ष धनबहादुर राईका अनुसार रामबहादुरको श्रीमति करिब डेढ महिनाअघि मात्र विदेश (दुबई) गएकी छिन् । श्रीमतिसँग केही समयदेखि खटपट भइरहेको परिवारका सदस्यहरुले जानकारी दिएको पनि वडाअध्यक्ष राईले बताए । श्रीमतिसँगको रिसमा सासु आमालाई खुकुरी प्रहार गरेर आफै पनि आत्महत्या गरेको उनको भनाई छ । 

मृतक २ दिनअघि मात्र भोजपुरबाट धरान आएका थिए । वडा नं १३ मा भाडामा रहेका जेठा छोराकोमा आएरु बसेको र हिजो सासु आमा भएकोमा आएर एक्कासी खुकुरी प्रहार गरेको वडाअध्यक्ष राईले जानकारी दिए ।