मोरङ: बिराटनगर महानगरपालिका १४ बाट लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना धरानका युवा पनि छन् । 

प्रहरीका अनुसार शुक्रबार बेलुका लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरकेो हो । रामधुनी नगरपालिका ८ घर भई बिराटनगर १४ मुण्डा पोखरीमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा  उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । गुरुङको कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिराटनगर १५ का २४ बर्षीय बरुण साह, बिराटनगर ३ का ३० बर्षीय आशिस हमाल पक्राउ परेका छन् । 

यस्तै, बिराटनगर १३ का ३० बर्षीय सुलभ रिजाल र धरान २० का २३ बर्षीय रोशन लिम्वु पनि समातिएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।