धरान: आज बिहान करिब ८ बजे सुनसरीको कोशी गाउँपालिका १ राजापोखरीस्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । 

इटहरीस्थित प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका अनुसार पुर्वबाट पश्चिमतर्फ जादै गरेको को २ च २६४९ नंम्बरको पिकअपले विपरित दिशाबाट आउदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार सप्तरी फत्तेपुर ५ का ३५ बर्षीय प्रकाश गोजेवार र सप्तकोशी नगरपालिका ६ का अन्दाजी ३६/३७ का दुर्गानन्द चौधरी गम्भिर घाईते भएका थिए ।

घाइते दुवैलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको थियो । अस्पतालमा चिकित्सकले प्रकाशको मृत्यु भइसकेको घोषणा गरेका थिए भने दुर्गानन्दलाई थप  उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मृतक दुईमध्ये मोटरसाइकल चालक हो थिए भन्ने खुलेको छैन भने दुर्घटना भएको दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छ । साथै, पिकअप चालक सुनसरी कोशी गाउँपालिका ३ का २१ बर्षीय दिपक गोसाई पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । पिअपको तीब्र गतिको कारण दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।