धरान: सप्तकोशी नदीमा तीन सन्तानसहित हाम्फालेर आत्महत्या गर्न खोजिरहेकी महिलालाई प्रहरीले तत्काल उद्दार गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो शुक्रबार बेलुकी कोशी गाउँपालिका ८ स्थित कोशीको पुलबाट इटहरी २ की ३४ बर्षीया अम्बिका खड्का छोराछोरीसहित आत्महत्या प्रयास गरेकी थिइन् । उनले १२ र ९ बर्षका दुई छोरी र ७ बर्षका एक छोरा साथै लिएर सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गर्न खोजीरहेको खबर प्रहरीमा पुगेको थियो । यो खबर पाउनासाथ तत्काल प्रहरी चौकी कोशीब्यारेजको टोली खटिएर आमा र तीन छोराछोरीलाई हाम्फाल्न नदिई प्रहरीले सकुशल उद्दार गरेको जनाएको छ । 

प्रहरीका अनुसार अम्बिकाका श्रीमान शरणकुमार खड्का वैदेशिक रोजगारीबाट करिब ५ बर्षपछि एक महिना अगाडि मात्र फर्केर आएका थिए । श्रीमान फर्केर आएदेखि आर्थिक लेनदेनको बिषयमा बारम्बर मानसिकरुपमा परिवारलाई तनाव दिने तथा कुटपिट गर्ने गरेपछि अम्बिका छोराछोरीसहित कोशीमा हाम्फालेर सामुहिक आत्महत्या गर्ने निर्णयमा पुगेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे श्रीमान्लाई जानकारी गराएर सम्झाई बुझाई गरी श्रीमति र छोराछोरी जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकृत एवं डिएसपी राजकुमार राईले जानकारी दिए ।