धरान: फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ । 

उपमहानगरपालिकाले फोहोर फाल्न प्रयोग गर्दै आएको वन समुहको क्षेत्रमा अव्यवस्थित भएको र पर्यावरणलाई पनि असर पुगेको भन्दै वन समुहले सोमबारसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको दिन वन समुहलाई छलफलमा बोलाएर फोहोर व्यवस्थापनको लागि १० बुँदे निर्णय गरेको समुहका उपाध्यक्ष कुमार भारतीले जानकारी दिएका छन् । 

छलफलमा राजमार्गदेखि खोलासम्म भएको फोहोरलाई संकलन गरेर डम्पिङ साइटमा पुर्ने काम गर्ने निर्णय भएको छ भने समय समयमा औषधी छर्ने व्यवस्थाप पनि गर्ने निर्णय भएको छ । यस्तै, डम्पिङ साइट प्रवेशद्धारमा तालाचाबीसहितको प्रवेशद्धार निर्माण गर्ने,  २ जना हेरालु कर्मचारीको व्यवस्था गरि अनधिकृत व्यक्तिको प्रवेश नियन्त्रण गर्ने निर्णयमा उल्लेख छ ।

Fohor-dharan

यसैगरि, वन वस्ती तथा खोलाको सिमाना छुट्याउने, सरसफाई सम्बन्धी सुचनामुलक होर्डिङ बोर्ड राख्ने र अन्य हटाउने, दीर्घकालिनरुपमा फोहोर व्यवस्थापन गर्न अध्ययन गर्ने पनि निर्णय भएको छ । यस्तै, डम्पिङ साइटलाई ल्याण्डफिल्ट साइटमा रुपान्तरण गर्न अध्ययन गर्ने, डम्पिङ साइटलाई व्यवस्थित गर्ने कार्यमा वन उपभोक्ता समुहसँग अनिवार्य सहकार्य गर्ने र साकेलाचोकदेखि तल्लो पानवारी जाने सेउती पुल आसपास जथाभावी फोहोर फाल्न नदिन कडाईका साथ निगरानी गर्ने र फोहोर फालेको भेटिएमा उपमहानगरपालिकाबाट नियमअनुसार कारबाही गर्ने पनि निर्णय भएको छ ।  

fohot-agrrement