धरान: धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ । 

टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको प्रहरीले जनाएको छ । वृद्धा घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन् । उनको हत्या हिजो नै भएपनि घटनाबारे आज बिहान मात्र थाह भएको नातामा भदै पर्ने सनम राईले जानकारी दिए । मृतकको छोराबुहारी बजार क्षेत्रमा बस्ने गरेका छन् । 

भदै सनमका अनुसार आज बिहान ठुलो बुबाको बुहारी च्याउको तरकारी पुर्याउन जादा मात्र घटनाबारे थाह भएको थियो । त्यसपछि आफ्नो बुबाहरु आएर ढोका खोलेर हेर्दा फुपुको हत्या भएको भेटिएको उनले बताए । 'फुपुले लगाउने गरगहनाहरु पनि छैन, लुटेर लगेको हुनुपर्छ,'उनले भने । 

घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर सर्जमिन मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि पठाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले भने, 'हत्या भएको हो । कानुनी प्रक्रियामा छौं । अनुसन्धान पनि शुरु भइसकेको छ । '