झापा: झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क एरियामा बस्दै आएका सिदिम्बा ४ सुरुमखिम ताप्लेजुङका २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न भनिएका ३ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा एक महिला पनि छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा ११ बसपार्कमा रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बर्षीय इन्द्र बहादुर अधिकारी, होटलका स्टाफ फिदिम नगरपालिका १२ का २१ बर्षीय अमृत आचार्य र आचार्यको श्रीमती २३ बर्षीया बिमला राई रहेका छन् । उनीहरुले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङगाको लोहोरो र चक्कु समेत प्रहार गरेर अचेत बनाएर होटल भन्दा १५० मिटर दुरीमा प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फालेका थिए । भोलीपल्ट गुरुङ मृत अवस्थामा फेला परेका  थिए । 

प्रहरीका अनुसार गुरुङ र आरोपितहरुबीच होटलको कोठामा मादक पदार्थ सेवन गरी तास खेल्ने क्रममा वादबिवाद भएको थियो । विवाद बढ्दै गएर झगडाको रुप लिदा लोहोरो र चक्कु प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।