विराटनगर: विराटनगर महानगरपालिका वडा नं ८ मा सडक मापदण्ड विपरितका संरचना हटाउन शुरु गरिएको छ ।

वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक विस्तारको कार्य अघि बढेको हो । वडा नं ८ का वडाध्यक्ष राम पोखरेलका अनुसार १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको छ । मापदण्ड अनुरुप सडक विस्तारका लागि हाल रेखाङ्कनभित्र परेका संरचनाहरू भत्काउने कार्य शुरु गरिएको पोखरेलले बताए । 

वडाअध्यक्ष पोखरेलका अनुसार मापदण्ड विपरितका संरचना हटाएसँगै एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने तयारीको साथ काम अघि बढेको छ । वडा कार्यालयले कालोपत्रेका काम शुरु गरेपछि वडावासी पनि उत्साहित छन् । आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेको काम सुरु पनि भएको छ । 

जय नेपाल मार्ग शाखा बाकेबिहारी मार्ग जोड्ने बाटो विगत लामो समयदेखि मापदण्ड विपरितका संरचना कायम रहँदा सडकस्तरोन्नती हुन सकेको थिएन । १२० मिटर लम्बाईको बाटो कालोपत्रे गर्ने जिम्मा भने सुमिसा निमार्ण सेवा विराटनगरले लिएको छ । निमार्ण कम्पनीले कुल ४३ लाखको बजेटमा वडा नं. ५, ६, ७ र ८ को विभिन्न चारवटा प्याकेजमा काम गरिरहेको छ ।

नाला निमार्णका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । सडक स्तरोन्नती नहुँदा खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम तथा वर्षायाममा सडकमा पानी जम्दा आवतजावतमा समेत समस्या हुने गरेको उनले बताए ।