धरानः सुनसरी क्षेत्र नम्बर १ अन्र्तगत बराहक्षेत्र नगरपालिकास्थित चतराको गाउँ वस्तीमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवारको शनिबार विहान घरदैलो अभियान भएको छ । 

उम्मेद्वारहरुले स्थानीय मतदाताहरुसँग भेट गर्दै त्यहाँका समस्याहरुलाई पुरा गर्ने प्रतिवद्धता पनि जनाए । मतदाताहरु खेतीको धान काट्ने र थन्काउने चटारोका बीच पनि एमाले र जसपाको उम्मेदवार घरदैलो अभियानमा पुग्दा स्वागत र सम्मान गर्न पुगेका थिए । 

बराहक्षेत्र नरपालिका १ की शर्मिला वस्नेतले घरमै पुगेका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राई र प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार विजय राईलाई स्वागत गर्दै सडक सुविधा नहँुदाको पीडालाई सुनाइन् । उनले जितेर गएपछि गाउँको कच्ची सडक पक्की बनाउन आग्रह पनि गरिन् । ‘बषौंदेखि हामीले सडक सुविधा नहुँदा समस्या भागेका छौं । घरमा बस्दा पनि धुलैधुलो हुन्छ । यो समस्याबाट हामीलायई मुक्ति दिनुहोला,’उनले भनिन् ।

यस्तै, ७५ वर्षीय जेष्ठ नागरिक नर बहादुर कार्कीले आफु पहिलादेखि नै एमाले उम्मेद्वारलाई भोट हाल्दै आएको बताए । वृद्धभत्ता पनि एमालेकै सरकारले दिएको भन्दै उनले उम्मेद्वारहरुलाई ढुक्क रहन आग्रह गरे । घरदैलो अभियानको क्रममा स्थानीयको समस्या र पीडा बुझेको भन्दै उम्मेदवारद्धयले जनताको माग पुरा गर्न आफुहरु प्रतिवद्ध हुने बताए ।

jasapa1 1

संघीय सदस्यका उम्मेदवार अशोक कुमार राईले नगरवासीको गुनासो र समस्यालाई आफुले कहिल्यै नविर्सने भन्दै पुरा गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘चुनावको घरदैलो अभियान भनेको केवल भोट माग्नु मात्रै होइन,आम नागरिकको समस्या वुझ्नु पनि हो ।’ प्रदेश सभा ख तर्फका उम्मेदवार विजय राईले पनि ग्रामीण भेगको समस्या पुरा गर्न नै आफ्नो उम्मेदवारी दिएको बताए । जनताको काम गर्न चुनावी मैदानमा आएको बताउदै उनले भने, म जितेर गएपछि पुनः फर्केर आउनेछु, यहाँहरुसँगै छलफल गर्ने छु । समस्या समाधानको लागि योजना ल्याउछुँ ।’

एमाले जसपाका उम्मेदवारहरु चतरा हुदै वराहक्षेत्र मन्दिरसम्म पुगेर मतदाताहरुलाई भेट गरेका थिए । स्थानीयबासीले विश्वकै पहिलो धार्मिक तीर्थस्थल रहे पनि विकास र भौतिक निर्माणका दृष्टिले पछि परेको साथै बराहक्षेत्रलाई केन्द्रीय पहुँचमा जोड्न नसकेको गुनासो पोखे । वराहक्षेत्र मन्दिरसम्म पुग्ने बाटो वर्षामा अवरुद्ध हुने, पहिरो झरिरहने कारणले गर्दा बिजुली बत्ती, सन्चार सुविधाबाट समेत बन्चित हुनुपर्ने बर्षेनी समस्या रहेको भन्दै स्थानीय मतदाताहरुले दीर्घकालीन समाधानका लागि पहल गरिदिन उम्मेद्वाहरुलाई आग्रह गरे । 

पवित्र तीर्थस्थल वराहक्षेत्रलाई धार्मिक सांस्कृतिक पर्यटकीयस्थलका रुपमा राष्ट्रियस्तरबाट घोषणा गरेर समुचित विकास गर्न आवश्यक रहेको उम्मेद्वार अशोक राईले बताए । छाता चुनाव चिह्नमा भोट माग्दै उनले बराहक्षेत्रको स्नानघाट व्यवस्थित गर्ने, गुप्त वराहको उत्खनन् गर्ने र कोशी कटान लागेका क्षेत्रलाई तटबन्धन गर्ने बराहक्षेत्र मन्दिर क्षेत्रको प्रमुख समस्या रहेकाले पहिलो प्राथमिकता यहाँको भौतिक निर्माणलाई दिने उनले बताए । 

jasapa2

उम्मेदवार राईले बराहक्षेत्रका समस्यालाई समाधान गर्न आफ्नो भरमग्दुर प्रयास रहने बताए । आफू यही क्षेत्रको स्थानीयवासी भएको र यहाँका समस्यालाई बुझेको बताउदै उनले निर्वाचन क्षेत्रलाई धार्मिक सर्किटले जोड्ने बताए । यो क्षेत्रको मुख्य आम्दानीको स्रोत धार्मिक पर्यटन भएकोले सडक, संरचना र सांस्कृतिक प्रवर्धन आफ्नो मूख्य एजेण्डा रहेको बताए ।

प्रदेश सभा १ (ख)का सूर्यध्वजावाहक उम्मेदवार विजयकुमार राईले प्रदेश र सङ्घीय सरकारको बजेटमै बराहक्षेत्रको समस्यालाई सम्बोधन गरेर हल गर्न आफु प्रतिवद्ध रहने बताए । बराहक्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर गर्न र यसको प्रचार प्रसार साथै प्रवर्धन गर्न नीतिगत निर्णय गरी बजेटको समेत व्यवस्थापन गर्न आफ्नो पहल रहने उम्मेदवार राईले प्रतिबद्धता व्यक्त गरे । घरदैलो अभियानमा बराहक्षेत्र नगरपालिकाका पूर्व मेयर निलम खनालले स्थानीय समस्याबारे उम्मेदवारलाई जानकारी गराएका थिए । हिन्दू धर्मावलम्वीको पवित्र धाम वराहक्षेत्र भएकाले यसको विकास र सौर्न्दर्यीकरणमा विशेष ध्यान दिनु पर्नेमा पूर्व मेयर खनालले ध्यानाकर्षण गराएका थिए ।