धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा एमाले जसपाका संयुक्त उम्मेद्वार अशोक कुमार राईले सुकुम्बासीलाई अब ढाट्ने ठाउँ नरहेको बताएका छन् । 

धरानको वडा नं ५ स्थित देवीगाउँमा चुनावी घरदैलो कार्यक्रमको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले जसपा र एमालेको संयुक्त सरकार हुँदा नै धनीपुर्जा वितरणको लागि ऐन ल्याएर आयोग पनि गठन गरेको बताए । सुकुम्बासीलाई कसैले धनीपूर्जा दिलाइदिन्छु भन्दै आश्वासन बाँड्दैमा त्यसको पछाडी नलाग्न समेत उनले आह्वान गरे ।

‘अब कुनै नेताले आएर मलाई भोट दिनुस्, म तपाईहरुलाई धनीपूर्जा दिन्छु भन्छ भने त्यसलाई पत्याउनु हुँदैन । त्यसलाई पत्याएर भोट हाल्ने गल्ती गर्न हुन्न,’ उनले भने, ‘एमाले र जसपाको संयुक्त सरकार भएको बेला नै सुकुम्बासीको स्थायी सामाधानको लागि ऐन ल्याइसकेको छ, त्यो ऐन कायन्वयनको चरणमा छ ।’

सुकुम्बासीलाई धनीपूर्जा दिन कसैले पनि रोक्न नसक्ने उनको भनाई थियो । ‘अब भूमिसुधार मन्त्रालय, सरकार नै त्यस कुरामा लाग्नुपर्ने बाध्यता ऐनले बनाएको छ,’ उनले भने, ‘अब जुन सुकै सरकार आएपनि धनीपुर्जा दिनबाट रोक्न सक्दैन, त्यो माथिल्लो स्टेजमा पुगिसक्यो।’ नेता राईले धरानको खानेपानीको दिर्घकालिन समस्या समाधानको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै बाचा गरिसकेको भन्दै भोट दिएर जिताउन अलि समेत गरे ।     

नेता राईले फरक प्रसंगमा आफुलाई टुरिष्ट उम्मेदवार भएको भन्दै विपक्षीले प्रचार गरिरहेकोले उनीहरु भन्दा आफु लोकल धराने भएको बताए । उनले हात्तिसार क्याम्पसमा अध्ययन गरेदेखि नै धराने भएको र धरानमा रहेर नै राजनीति गर्दै संगठन निर्माण गरेको पनि स्मरण गरे । ‘२०४८ सालमा मनमोहन अधिकारी धरानबाट चुनाव लड्दा नेता कार्यकर्ताले मलाई धरानबाट चुनावमा उठाउन चाहेका थिए तर अध्यक्षले नै धरानबाट चुनाव लड्ने इच्छा राखेपछि म अन्यत्रबाट चुनाव लडेको थिएँ,’उनले भने । २०७४ सालदेखि धरानलाई नै कर्मथलो बनाएर बसिरहेको भन्दै उनले अबको जीवन धरानमा नै बिताउने समेत प्रणसमेत गरे ।