धरान: बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकास लागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । 

बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर्ने प्रतिबद्धता उम्मेदवार राईले गरेका थिए । उनले मतदातालाई सम्बोधन गर्दै देशको विकास गर्ने पार्टी नै एमाले भएको भन्दै यस क्षेत्रमा भएको बाटोको स्तरोन्नती गर्ने, पुल पुलेसा बनाउने तथा सभाहल बनाउने जस्ता कुरामा आफ्नो पहल रहने बताए । 

एमाले पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेर त्यसकै जगमा देश अघि बढाउने राईले बताए । उनले आफु जनताकै काम गर्न उम्मेदवार भएको भन्दै जित हारको परिणामले काम गर्न आफुलाई नरोक्ने बताए । उनले भने –‘म जित्दा मात्रै काम गर्ने मान्छे होइन, जित हार एउटा प्रकृया हो तर जित्दा धेरै भन्दा धेरै काम गर्न सकिन्छ ।’

घरदैलोको क्रममा मतदाताकोमा पुग्दा मतदाताले आफुसँग धेरै आशा राखेको पाइएको उनले बताए । अन्यले काम भन्दा बढी आश्वासन बाडेको भन्दै गर्न सक्ने काम मात्र गर्छु भन्ने प्रतिबद्धता जनाएको समेत बताए ।