धरान: धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषा राईलाई गत कार्तिक ३ गते महिलाहरुको समुह गएर कुटपिट गरेका थिए । 

आफ्ना श्रीमान्सँग नजिकिएको आरोपमा केही महिलाहरु सहित पुगेका उर्मिला राईले जथाभावी कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरेर डिस्चार्ज भएकी उषाले उपचार खर्च पाउने गरि प्रहरी कार्यालयमा मिलापत्र पनि गरिन् । तर, पुनः स्वास्थ्यमा समस्या आएपछि झण्डै एक साताअघि अस्पताल भर्ना गरिएकी उनको मंगलबार उपचारकै क्रममा निधन भयो । कुटपिटमा संलग्न उर्मिला राईसहित केही महिलाहरुविरुद्ध किटानी जोहरी परेपछि सबै फरार छन् ।

यो घटनाले अहिले सामाजिक सञ्जाल तातिएको छ । कुटपिट गर्नेहरु आमा समुहमा आवद्ध भएको भन्दै आमा समुहमाथि प्रहार भइरहेको छ । मृतकका छोरी, छरछिमेकी र प्रत्यक्षदर्शीहरुले पनि कुटपिटका मुख्य आरोपी उर्मिलासँगै आमा समुहका महिलाहरु पनि आएर सघाएको बताउदै आएका छन् । मृतककी छोरीले आमालाई विभिन्न केमिकल, खोर्सानीको धुलोलगायत भएको तरल पदार्थ पिलाएर मार्ने पनि प्रयास गरेको बताइन् । 

ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले कुटपिटबाट घाइते भएकी उषाको उपचार पश्चात मेलमिलाप पनि भएको तर पछि पुनः विरामी भएर उपचारको क्रममा रहदा निधन भएको बताए । घटनामा किटानी जाहेरी आइसकेकोले अनुसन्धान भइरहेको र जोहरीमा नाम उल्लेख भएकाहरुको खोजी पनि भइरहेको डिएसपी श्रेष्ठले बताए । 

हाम्रो संस्थाको संलग्नता छैन: आमा समुह

ama-samuha

बिशेष गरि यो घटनामा धरान १३ को जनजागृति आमा समुह विवादमा तानिएको हो । सामाजिक सञ्जालमा नाम नखुले पनि चौतर्फी आलोचना भइरहेपछि बुधबार यो आमा समुहले आकस्मिकरुपमा पत्रकार सम्मेलन गरेर उक्त घटनामा समुहको संलग्नता नरहेको जनाएको छ । साथै, समुहले दोषीलाई कारबाही गर्न र पीडित (मृतक) उषा राईलाई न्याय दिलाउन पनि समबन्धिन निकायसँग माग गरेको छ ।

संस्थाले महिला हिंसाविरुद्ध विभिन्न काम गर्दै आएको र महिलामाथि हुने दमनका गतिविधिमा संलग्न नभएको पनि समुहले जनाएको छ । संस्थामा आवद्ध भएका महिलाहरु संस्थाको प्रतिनिधिकोरुपमा कोही पनि नगएको प्रष्ट पार्दै अध्यक्ष निर्मला तिम्सिनाले व्यक्तिगतरुपमा घटनामा संलग्न भएमा उनीहरुलाई पनि कारबाही हुनुपर्ने बताइन् । 

किटानी जाहेरीमा नाम उल्लेख गरिएका महिलाहरु कोही पनि आफुहरुको समुहमा आवद्ध नभएको भन्दै उनले आफुहरुको संस्थाको नाम जोडेर गलत र भ्रमपुर्ण हल्ला फिजाइएको भन्दै दुःख पनि व्यक्त गरे । ‘हाम्रो संस्थामा उजुरी आएको पनि छैन, हामीले यो बिषयमा छलफल पनि गरेका छैनौं,’अध्यक्ष तिम्सिनाले भनिन्,‘तर उक्त घटनामा कोही संलग्न भए त्यो संस्थात होइन, व्यक्तिगत भएको हो । ती व्यक्तिले गरेको अपराधमा हाम्रो संस्था जिम्मेवार हुदैन, संलग्न छ भने कारबाही हुनुपर्छ ।’

ama-samuha1

ama-samuha2