धरान: हिमालयन महायान देक्षेन क्षोलिङ्ग गोन्पा धरान १८ मा १० करोड बज्रगुरु जप धार्मिक अनुष्ठान समापन भएको छ ।

पुष २ गतेदेखि शुरु भएको बज्रगुरु जप मंगलबार औपचारिकरुपमा समापन गरिएको थियो । धरान १८ स्थित गुम्बामा निर्माण भएको लामा लामा छात्रावास तथा धार्मिक सभा हलको पुष १ गते नै उद्घाटन भएको थियो । भारतको नामड्रोलिङ गोन्पा मैसोरका गुरु खेन्छेन छेवाङ ग्याम्छो रिन्पोछेको प्रमुख आतिथ्यमा उक्त सभाहलको उद्घाटन भएको छात्रावास तथा भवन निर्माण समितिकी सचिव कल्पना शेर्पाले जानकारी दिइन् । उनका अनुसार जग्गा खरिद, भवन निर्माणसमेत ७ करोड बढी लागत खर्च भएको छ । 

gumba1

गुम्बाका अध्यक्ष ङावा लप्टु शेर्पाको अध्यक्षता तथा नेपाल शेर्पा संघको पुर्वअध्यक्ष तथा संविधानसभा सदस्य जित छिरिङ शेर्पाको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा दाताहरुलाई सम्मान पनि गरिएको थियो । मंगलबार गुम्बाको माथिल्लो तलामा निर्माण गरिएको मिनि सभाहलको पनि उदघाटन गरिएको छ । उक्त मिनि हल दावा शेर्पा र श्रीमति दिकु शेर्पाले २५ लाखमा बनाइदिएका हुन् ।

समापन समारोहमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क) का सांसद रमेश बस्नेत, सुनसरी १ (ख) का सांसद विजय राई र समानुपातिक प्रदेशसभा सांसद यशोदा कायस्थको पनि उपस्थिति रहेको थियो । आयोजक संस्थाले नवनिवार्चित सांसदहरुलाई शुभकामना दिदै गुम्बालाई सहयोगको आग्रहसमेत गरेको थियो ।

भिडियो: