धरान : धरानको वडा नं ५ स्थित देवीमार्गको एक घरमा आगलागी भएको छ । 

हिजो साँझ करिब ६ बजेतिर राजमाया राईको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र भएको सबै सुनचादी, नगद, लत्ताकपडा, सामग्रीहरु पनि नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागी पछि सात जनाको पीडित परिवारको विचल्ली भएको छ । परिवारका सदस्य कोही छोरीको घरमा आश्रय लिएका छन् भने कसैले कुखुरापालनको लागी बनाएको टहरामा गत रात बिताएका छन् ।

छोरा पञ्चराज राईका अनुसार घर विद्युत सर्ट भएर आगलागी भएको हो । करिब ३० देखि ३५ लाखको क्षति भएको उनले सुनाए । घर बनाउन राखेको काठ, सुनचादी, घरका सबै सामान, धनीपुर्जा, नागरिकतालगायत महत्वपुर्ण कागजातहरु पनि जलेर नष्ट भएको पञ्चराजले बताए । उनकी आमा राजमायाका अनुसार ४ कट्ठा १३ धुरको धनीपुर्जा, आफ्नो मात्र १५ हजार नगद, गरगहना पनि जलेर नष्ट भएको छ । 

agalagi3

आगलागी पीडित परिवारलाई भेट्न आज बिहान मेयर हर्क साम्पाङ, वडा नं ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ र वडा ५ की सदस्य सुनिता राई पुगेका छन् । वडाअध्यक्ष कुलुङका अनुसार आगलागी नियन्त्रणमा आउन झण्डै ४५ मिनेट समय लागेको थियो । दमकललाई खबर गर्न नै ढिलाई भएको तर खबर गरेको १० मिनेटभित्रै दमकल आइपुगेको पनि उनले बताए । पीडित परिवारलाई वडा, नगर र रेडक्रसबाट पनि राहत उपलब्ध गराउन पहल गर्ने उनले बताए । साथै, स्थानीय आमा समुह, क्लबहरुबाट पनि खाद्यान्न, लत्ताकपडा, नगद सहयोग उपलब्ध गराउने पनि उनले बताए । 

agalagi1

मेयर साम्पाङले तत्काल लत्ताकपडा, खाद्यान्नको राहत उपलब्ध गराइने बताए । ‘पीडित परिवारलाई तत्काल केही राहत प्रदान गछौं । हाम्रो विभिन्न विपद सम्बन्धी व्यवस्था गरेका हुन्छौं । ओढ्ने, ओछ्याउनेगायत व्यवस्था तत्काल गराउछौं,’मेयर साम्पाङले भने । 

agalagi2

agalagi4

भिडियो: