धरान: गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्रबाट हर्क साम्पाङ निर्वाचित भएपछि उनको चर्चा र प्रशंसा सबैतिर छ । 

ठुला भनिएका राजनीतिक पार्टीहरुको उम्मेद्वार मात्र होइन, गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएकाहरुलाई पनि पराजित गरेर मेयरमा चुनिएपछि शुरु भएको साम्पाङको चर्चा र अलोचना भइरहेको छ । तर, यही धरान उपमहानगरपालिकामा एक जना वडाअध्यक्ष पनि स्वतन्त्रबाट निवार्चित भएका थिए । उनी हुन्, धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई । 

यी वडाअध्यक्षले पनि राजनीतिक दलहरुबाट वडाअध्यक्षमा उठेका उम्मेद्वारहरुलाई पराजित गरेका थिए । उनको चुनाव चिह्न थियो, पानीको धारा । तर मेयरमा निवार्चित साम्पाङको जित र चर्चाको अघि उनको जित ओझेलमा परेको थियो । हुन पनि वडाअध्यक्ष भन्दा बढी महत्व मेयर पदको नै हुन्छ । त्यसैले पनि मेयरमा विजयी साम्पाङको चर्चा धेरै हुनु स्वभाविक नै थियो । तर वडाअध्यक्ष भट्टराई पनि चर्चा गर्न योग्य पात्रकोरुपमा देखिएका छन् । 

bhupendra2

उनले चुनावको बेला नै घोषणा गरेका थिए, ‘चुनाव जिते भने आफुले पाउने पारिश्रमिक जनताको सेवामा खर्च गर्नेछु ।’ अन्ततः उनले चुनाव पनि जितेका छन्, र आफुले जनतासँग गरेको वाचालाई पुरा गर्न लागिपरेका छन् । उनले आफ्नो पारिश्रमिकबाट विपन्न परिवारका सदस्यहरुलाई आवश्यक पर्ने सामान खरिद गरेर वितरण गरिरहेका छन् । 

bhupendra1

आज (बुधबार) उनले २५ वटा ब्ल्याङ्केट विपन्न परिवारका जनतालाई वितरण गरेका छन् । धरान वडा नं ६ घोपाली टोलमा पुगेर वडाअध्यक्ष भट्टराईले ब्लांङकेट वितरण गरेका हुन् । अहिले पुषको कठ्याङ्ग्रिदो जाडोमा वडाअध्यक्ष भट्टराईले वितरण गरेको ब्ल्याङ्केटले केही हदसम्म भएपनि विपन्न परिवारलाई न्यानो महशुस गराउने अपेक्षा गरिएको छ । उनले आफ्नो पारिश्रमिकबाट जनतालाई सेवा गरेको यो पहिलो पटक भने होइन । यसअघि पुष ९ गते पनि उनले ४५ वटा ब्ल्याङ्केट यसरी नै विपन्न परिवारलाई वितरण गरिसकेका छन् ।

भिडियो: