धरान: हरेक बर्ष माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइने गरिन्छ । अझ धरानमा २०४५ सालको भुकम्पले धेरै धनजनको क्षति पुगेकोले यो दिवसलाई महत्वका साथ मनाइने गरिन्छ । 

यो बर्ष पनि आज (सोमबार) विभिन्न कार्यक्रम आयोजना गरि २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउने तयारी थियो । तर, हिजो आइतबार पोखरामा यतिको विमान दुर्घटनामा चालक दलसहित ७२ जनाको ज्यान गएपछि देश शोकमा डुब्यो । उक्त दुःखद घटनाको कारण सरकारले आज शोक विदा दियो भने भुकम्प सुरक्षा दिवसका सम्पुर्ण कार्यक्रमहरु पनि स्थगित भयो । 

bhukampa1

अन्य कार्यक्रमहरु स्थगित भएपनि धरानमा सोमबार साँझ भानुचोकस्थित घण्टाघर भित्र रहेको भुकम्प स्मारकमा दिप प्रज्वलन गरेर मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु पनि उपस्थित दिप प्रज्वलन कार्यक्रममा यति विमान दुर्घटनाका मृतकहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै विमानको धेरै दुर्घटना हुने गरेकोले सम्बन्धिन निकायले अध्ययन गरेर पुराना विमानहरु विस्थापित गर्नुपर्ने बताए । आउदा दिनहरुमा त्यस्तो घटना हुन नदिन सुरक्षा उपायहरु अपनाउनुपर्ने पनि उनले बताए । उनले भुकम्प, विभिन्न दैवीप्रकोप, दुर्घटनाहरुमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुःखद घटना दोहोरिन नदिन सबैले जिम्मेवारी पुरा गर्नुपर्ने पनि बताए । 

bhukampa

वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले भुकम्प सुरक्षा दिवस मनाउने तयारी भइरहदा पोखरामा विमान दुर्घटनामा धेरैले ज्यान गुमाउनुपर्दा अन्य कार्यक्रमहरु स्थगित गरिएको बताए । साथै उनले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वलन भने गरिएको बताए । सेवक अभियानका संयोजक राजिव हलवाईले २०४५ सालको भुकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा घण्टाघरभित्र स्मारक निर्माण गरिएको बताए । २०५५ सालदेखि नेपालमा यो दिवस मनाउन थालिएको पनि उनले बताए । 

भिडियो: