धरान: पछिल्लो २ सातामा धरानमा लागुऔषध खैरोहेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानका अनुसार पुष २४ गते साँझ साढे ७ बजे धरान १३ भृकुटी मार्गका ४९ बर्षीय पर्शुराम गुरुङ छाताचोकबाट गाँजासहित पक्राउ परेका थिए । को २ ह १८५६ नम्बरको टेम्पोमा शंका लागेर चेकजाँच गर्दा २ सय ग्राम गाँजा फेला परेपछि गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । गुरुङको घरमा पनि खानतलासी गर्दा थप १७ किलोग्राम गाँजा वरामद भएको पनि उनले बताए । 

यस्तै, बिशेष सुचनाको आधारमा प्रहरीले मंगलबार धरान १५ सुसन रोडका रन्सुर राईको कोठामा छापा मार्दा थप २ जनालाई खैरो हेरोइन र गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रन्सुरसहित ३१ बर्षीय सनोज राई र २४ बर्षीय दिपक विश्वकर्मा पनि रहेका छन् । कोठा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र २ सय ग्राम गाँजा वरामद भएको थियो । 

यस्तै, आज (बुधबार) बिहान ७ बजेर ५० मिनेटमा कोशी राजमार्गमा पर्ने धरान ८ भोटेपुलमा ट्राफिक चेकिङको क्रममा मोटरसाइकलमा सवार २ जना गाँजासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–०४१ प ४६४७ नम्बरको मोटरसाइकल चालक धनकुटाको सहिदभुमी गाउँपालिका ४ खोकुका २१ बर्षीय भुमिराज राई र पछाडि सवार २१ बर्षीय जमनध्वज राई पक्राउ परेका हुन् । 

उनीहरुले बोकेको झोला चेकजाँच गर्दा गाँजाको ५ वटा पोका फेला परेको थियो । उक्त पोका तौल गर्दा प्रत्येक पोका १ केजी रहेको र कुल ५ केजी गाँजा वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।