धरान: सहरी सडकको मापदण्ड अनुसार धरानको पुतलीलाइन सडक पनि ५० फिटको बनाइने भएको छ । 

पुतलीलाइनको सडकलाई ५० फिट मापदण्ड अनुसार विस्तार गर्न बुधबार १० नम्बर वडा कार्यालयले सरोकारवाला स्थानीय घरधनीसँग छलफल आयोजना गरेको थियो । उक्त छलफलले स्थानीय घरधनी रितेश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । संयोकज श्रेष्ठ नारायण पुतलीलाइन टोलविकास संस्थाको अध्यक्ष पनि हुन् । समितिको सदस्यहरुमा रेणुका तुलाधार, गीता तुलाधार, युवराज राई, उज्वल हवलाई, विमल उदाश, नविन राई, रामलाल सिकर्मी, मिलन श्रेष्ठ, कल्पना लिम्बु रहेका छन् भने वडा सचिव राम पौडेल समितिको सदस्य सचिव छन् ।

वडा नं १० मा पर्ने भगवती मन्दिरदेखि पश्चिम नारायण चोकसम्मको पुलतीलाइन खण्डलाई ५० फिट मापदण्डको लागि यो सहजीकरण समिति बनेको थियो । भगवती मन्दिरदेखि पुर्व भानुचोकसम्मको पुतलीलाइन खण्ड वडा नं ९ मा पर्छ भने नारायण चोकदेखि पश्चिम वडा ११ मा पर्छ । छलफलमा स्थानीयबासीले वडा ९ र ११ तर्फ पनि ५० फिट मापदण्ड वमोजिम बाटो विस्तारको काम हुनुपर्ने माग गरेका थिए।

भिडियो:

छलफलमा वडा १० का अध्यक्ष विवेक राईसहित वडा सदस्यहरु, उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठ, योनजा अधिकृत किरण भुजेल पनि सहभागी थिए । वडाअध्यक्ष राईका अनुसार छलफलमा ७६ जना स्थानीय घरधनी उपस्थित रहेका थिए । राय, सुझाव लिनुका साथै बजेटबारे पनि स्पष्ट बनाइएको उनले बताए । यो सडक विस्तारमा जनताको आर्थिक लगानी गर्नुनपर्ने पनि उनले बताए । 

सहजीकरण समिति बनेको र चाडै सर्वे टोली ल्याएर नापजाच पनि गरिने अध्यक्ष राईले जानकारी दिए । ‘सडक विस्तार हुदा १८ वटा जति घरलाई मात्र छुन्छ । घरहरुमा धेरै ठुलो क्षति पनि हुदैन,’उनले भने,‘सकेसम्म थोरै क्षति हुने भयो भने पिच नै ५० फिट र दुई दुई फिट ड्रेन बनाउने हो । धेरै क्षति हुने देखियो भने ४४ फिट पिच र तीन तीन फिट ड्रेन बनाउन सक्छौं ।’

putali-line1

putali-line2