धरान: धरानको वडा नं ७ को केही क्षेत्रमा विगत २० दिनदेखि खानेपानी नआएको स्थानीयले गुनासो गरेका छन् ।

वडा ७ को श्रीजंगा लाइन लुप र गोविन्द रोडका घरहरुमा विगत २० दिनदेखि धारामा पानी आएको छैन । लामो समयदेखि धारामा पानी नआएको गुनासो गरेपछि वडा अध्यक्ष जीवन सुवेदीले खानेपानी व्यवस्थापन बोर्डलाई पत्र लेख्दै पानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । वडा ७ का अध्यक्ष सुवेदीले पानी वितरणमा समयको तालिका बनाएर वितरण गरे वडाबासीलाई सहज हुने पनि उक्त पत्रमा अनुरोध गरेका छन् । साथै, पानी वितरणमा वडा कार्यालयको सहयोग चाहिएमा पुर्ण सहयोग रहने पनि उक्त पत्रमा उल्लेख छ । 

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष मेयर हर्क साम्पाङ छन् । खानेपानीको एजेण्डा बोकेर चुनाव जितेका साम्पाङ विभिन्न खोलाहरुबाट पानी संकलन गरेर वितरणमा केन्द्रीत भएपनि हिउँदा शुरु भएसँगै अहिले धरानमा पुनः पानी संकट देखि थालेको छ । धरानमा सतहको प्रमुख स्रोत सर्दु र खर्दु खोलाको पानी हो भने बोरिङ गरेर निकालेको भुमिगत पानी अर्को प्रमुख स्रोत हो । हिउँदमा खोला सुक्न थालेपछि समस्या शुरु हुने गर्छ । त्यसबेला भुमिगत स्रोतको पानी वितरण गर्न पम्प चलाउनु पर्ने भएपनि अधिकांश पम्प पुरानो र बिग्रिने गरेको कारण माग वमोजिम पानी आपूर्ति हुनसकिरहेको छैन । 

ward-7