धरान: आफ्नै मिल्ने साथीले सानो खुकुरी (कर्दा) प्रहार गरेर धरानको वडा नं ५ आँपटारमा एक युवाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज बिहान करिब ८ बजे ४९ बर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । उनको हत्याको आरोपमा ३५ बर्षीय विकास भन्ने हर्कबहादुर राई पक्राउ परेका छन् । विकासले आफ्नो घरको किचनमा कुमारको हत्या गरेको प्रहरीले जनाएको छ । कुमारको कोखा र ढाडमा पनि कर्दा प्रहार गरेको अवस्थामा शव भेटिएको थियो । 

कुमारको हत्या पछि पनि विकासले छिमेकी एक बालिकालाई पनि आक्रमणको प्रयास गरेका थिए । ती बालिका ट्वाइलेटमा लुकेर बचेकी थिइन् । तर विकासले छिमेकी मञ्जु भन्ने गोमा खड्का राईलाई खेदाई खेदाई खुकुरीले आक्रमण गरेर घाइते बनाएको वडा नं ५ का वडाअध्यक्ष मनप्रसाद राईले जानकारी दिए । 

घटनाबारे थाह पाएका स्थानीय युवाहरुले आक्रमणकारी विकासलाई पनि बाँस र दाउराले आक्रमण गरेर नियन्त्रणमा लिएका थिए । घाइते महिलालाई शुरुमा उपचारको लागि विजयपुर अस्पतालमा लगएको थियो । त्यहाँबाट रिफर भएपछि अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै, नियन्त्रण लिने क्रममा घाइते भएका विकासको पनि उपचार पश्चान ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । 

वडा नं ५ का अध्यक्ष लिम्बुका अनुसार बिहानै छोरा ओछ्यानमा नभेटेपछि विकासको बुबा खोज्दै मृतक कुमार बुढाथोकीको घरमा पुगेका थिए । कुमार र विकास उमेरमा फरक भएपनि एकदमै मिल्ने हितैषी भएको पनि अध्यक्ष लिम्बुले बताए । कुमारको घरमा पनि छोरा नभेटेपछि फर्कदै गर्दा एक महिलाले बारीको डिलमा बसेको छ भन्ने जानकारी दिएकी थिइन् । छोरा बारीमा भेटिएपछि घरमा ल्याएर चिया पकाउन लगाएर पिउदै गर्दा कुमार पनि साथी भेट्न आइपुगेका थिए ।

कुमारले साथी (विकास)लाई मन्साउन भन्दै ठिंगाबारीमा रहेको धामीलाई भेट्न लैजान्छु भनेपछि विकासका बुबाले अक्षता तयार गरे । धुप नभेटेपछि लिन गएर घरमा फर्कदा किचनमा कुमारको हत्या गरिसकेको वडाअध्यक्ष लिम्बुले जानकारी दिए । ‘बुबा धुप लिन गएको बेला खुकुरीभन्दा सानो कर्दाले कोखामा घोचेर मारिसकेछ,’वडाअध्यक्ष लिम्बुले भने,‘तल्लो घरमा पनि नानीलाई काट्न खोज्दा टोइलेटमा लुकेछ । आमा (मञ्जु)लाई चै लखेटेर बारीमा भेटेपछि आक्रमण गरेछ ।’

हत्याको कारण लागुऔषध हुनसक्ने

प्रहरीका अनुसार मृतक कुमार र हत्या आरोपित विकास दुवै मिल्ने साथी थिए । साथै दुवै लागुपदार्थ सेवनकर्ता भएको पनि प्रहरीको भनाई छ । लागुऔषधकै कारण हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । दुवै लागुऔषध सेवन गर्ने खुलेको छ, यथार्थ के हो अनुसन्धान गदैछौं ः डिएसपी श्रेष्ठले भने ।