धरान: कोशीबाट खानेपानी ल्याउने चुनावी नारा बनाएर निवार्चित मेयर हर्क साम्पाङ मंगलबार प्रदेशसभा सदस्य लिएर कोशी पुगे । 

प्रदेशसभा १ (क) का सांसद रमेश बस्नेतसँगै बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष किशन थापा, धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलसहित मेयर साम्पाङ कोशी पुगेका हुन् । उनीहरुले कोशीबाट ल्याउने पानीको लागी ट्रिटमेन्ट प्लान्ट र रिजर्ब वेयर बनाउन सर्वे भएको ठाउँ बराहक्षेत्र १ स्थित फुलबारीको स्थलगत निरीक्षण गरेका थिए । यसैगरि, कोशी पुल नजिक वेल र इन्टेक बनाउन अध्ययन भएको क्षेत्रमा पनि स्थलगत निरीक्षण गरिएको थियो । 

कोशीको पानी धरान लैजान संघीय सरकारबाट नै डिपिआरको लागी अध्ययन भइरहेको छ । प्रदेश सांसद बस्नेतले डिपिआर तयार हुने चरणमा रहेको र सर्वसुलभ भन्ने भएमा संघीय सरकारसँग पहल गर्ने बताए । ‘सबैभन्दा उपयुक्त विकल्प यही हो भन्ने भयो भने पहल र लविङ हुन्छ,’उनले भने । 

mayor-harka-koshi

मेयर साम्पाङले कोशीको पानीलाई कहाँबाट कसरी लैजाने भनेर निक्यौल भइसकेको र केही संरचना निर्माणको लागी आवश्यक पर्ने स्थान हेर्नलाई आएको बताए । उनले कोशीको पानी धरान लैजाने योजनालाई संघ सरकारले राष्ट्रिय गौरवको आयोजनाकोरुपमा सहयोग गर्नुपर्ने पनि बताए । ‘धरानको खानेपानी समस्या अब धराने जनताको लागि मात्र मुद्दा होइन, राष्ट्रिय मुद्दा नै बनिसक्यो,’उनले भने,‘केन्द्र सरकारको लगानी हुन्छ, आवश्यकता भए जनताको लगानीमा हुन्छ ।’ कोशीबाट पानी ल्याउदा पचास, सय बर्ष पछिसम्मको लागि पनि अहिल्यै योजना बनाउनुपर्ने उनले बताए ।

mayor-koshi1

धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेका अनुसार कोशीमा सतह भित्रबाट वेल बनाएर पम्पमार्फत पानी निकालेर धरान पठाइनेछ । कोशीको पम्प गरेको पानीलाई पाइपमार्फत उचाईमा रहेको फुलबारी भन्ने ठाउँमा ट्रिटमेन्ट प्लान्ट र रिजर्ब वेयरमा पुर्याइनेछ भने त्यहाँबाट ग्राभिटी फ्लोमा नै खानेपानी बोर्ड कार्यालय परिसरमा रहेको ट्यांकीमा पुर्याउने गरि सर्वे भएको छ । 

भिडियो: