धरान: खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच गर्ने क्रम धरानमो अझै रोकिएको छैन । 

आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा अवैधरुपमा बनिरहेको घर डोजर लगाएर उपमहागनरपालिकाले भत्काएको थियो । पुनः वडा नं ११ स्थित सर्दु खोला किनारको सुन्दर बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइएको छ । उक्त क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको पाएपछि बुधबार नगर प्रहरी पुगेर अतिक्रमित क्षेत्र खाली गराइएको थियो ।

नगर प्रहरी प्रमुख विष्णु कोइरालाको कमाण्डमा गएको टोलीले बाँसको बेरा लगाएको र टहरा बनाउदै गरेको क्षेत्रलाई खाली गराइएको थियो । खोला किनारको जग्गामा भर्खर अतिक्रमण शुरु भएर बाँसको घेराबारा र केही नयाँ टहराहरु पनि बनाउन शुरु गरेको पाइएको नगर प्रहरी प्रमुख कोइरालाले जानकारी दिए । 'हाम्रो गस्ती टोलीले थाह पाएपछि गएर सबै अवैध संरचना हटायौ, अहिले हिउँदमा पानी छैन, पछि बर्षाको बेला बाढी आएर क्षति हुन्छ,' उनले भने, 'यस्ता जोखिमयुक्त ठाउँ र सार्वजनिक जग्गामा केही कसैले अतिक्रमण गरेर संरचना नबनाउन आग्रह गछौं । '