धरान: नगरसभा आउन २ दिन मात्र बाँकी रहदा शुक्रबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा पारित हुन सकेन ।

बैठकमा चालु आर्थिक बर्ष २०७९/८० को बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा प्रस्तुत भएपछि वडाअध्यक्षहरुले चर्को असन्तुष्टी प्रकट गरे । उनीहरुले वडाको विभिन्न शिर्षक तथा कार्यक्रमको बजेट काटेर अर्को शिर्षकमा रकमान्तर गर्ने प्रस्ताव ल्याउनुअघि आफुहरुसँग कुनै पनि छलफल नगरिएको भन्दै असन्तुष्टी जनाए । साथै, उनीहरुले बजेट सिलिङ समिति र भौतिक पुर्वाधार समितिमा पनि छलफल नै नगरि बजेट संशोधन तथा रकमान्तरको प्रस्ताव ल्याएको भन्दै प्रक्रिया विपरीत ल्याएको एजेण्डा पारित नगर्ने अडान राखे ।

यो एजेण्डामा मात्र बैठक झण्डै २ घण्टा बढी समय छलफल भएको थियो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको चर्को असन्तुष्टी र विरोध पछि उक्त एजेण्डा पारित नगरि बैठक अगाडि बढेको थियो । उक्त एजेण्डामा शनिबार पुनः कार्यपालिका बैठक बसेर निर्णय लिने समझदारी भएको थियो । कार्यपालिका बैठक भोली पुनः बिहान ८ बजेट बस्ने निर्णय भएको कार्यपालिका प्रवक्ता मनोज भट्टराईले जानकारी दिए । भौतिक पुर्वाधार समिति र बजेट सिलिङ समिति दुवैको बैठक आज साँझसम्म बसेर बजेट संशोधन एजेण्डामा सहमति गरिने पनि उनले बताए । 

भूउपयोग कार्यान्वयन समितिमा ४ जना सदस्य मनोनित

drn karyapalika meeting

बैठकले भूउपयोग ऐन २०७६ को दफा २० मा व्यवस्था भए वमोजिम भूउपयोग परिषदको कार्यमा सहयोग गर्न स्थानीय तहमा गठन हुने कार्यान्वयन समितिमा ४ जना सदस्यहरु पनि मनोनित गर्ने निर्णय गरेको छ । कार्यान्वयन समितिमा सरोकारवालहरुबाट परिषदले तोकिएको २ जना महिलासहित ४ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । 

बैठकले कार्यान्वयन समितिमा दिलिपकुमार भण्डारी, कुमारी देवान, हिरादेवी राई र हरिकुमार कार्कीलाई मनोनयन गर्ने निर्णय गरेको छ । भूउपयोग परिषद मेयरको संयोजकत्वमा कार्यपालिका सदस्यहरु (सबै) रहने व्यवस्था छ ।

भिडियो:

भिडियो: