धरान: धरान उपमहानगरपालिकाले तीनकुनेदेखि भानुचोकसम्मको सडक ७२ फिट बनाउन सम्बन्धित आयोजनालाई पत्राचार गरेको छ । 

उपमहानगरले रानी विराटनगर, इटहरी, धरान सडक आयोजनालाई भानुचोकसम्मको सडक ७२ फिट बनाउन पत्राचार गरेको हो । भानुचोकदेखि उत्तरतर्फ भने धेरै भौतिक क्षति हुने भएको त्यताको सडकबारे भने उपमहानगरपालिका मौन बसेको छ । सडक आयोजनाले भने १०० फिट सडक विस्तार गर्ने भन्दै क्लियरेन्स गरिदिन उपमहानगरपालिकालाई पत्राचार गरेको थियो । 

भानुचोकसम्म ७२ फिटको सडक विस्तार हुँदा धेरै क्षति नहुने भएकोले आफुले आयोजनालाई पत्राचार गरेको मेयर हर्क साम्पाङले जानकारी दिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, तीनकुनेदेखि भानुचोकसम्म ७२ फिट सडक बनाउन पत्राचार गरेको छुँ । गर्ने, नगर्ने जिम्मा आयोजनाको हो । त्यहाँसम्म ७२ फिट बनाउदा धेरै क्षति हुदैन । भानुचोक मास्तिर धेरै विवाद र क्षति पनि धेरै हुने भएकोले के गर्ने भनेर समन्वय गरेर छलफल भइरहेको छ । 

harka-sampang

आयोजना प्रमुख दानबहादुर शाक्यले भानुचोकसम्म ७२ फिट सडक बनाउन पत्र आएको खुलाउदै उक्त पत्र सडक विभागमा पठाउने बताए । उनले भने, ‘तीनकुनदेखि भानुचोकसम्म सडक ७२ फिटको बनाउन पत्र आएको छ । त्यो पत्र माथि सडक विभागमा छलफलको लागी पठाउछुँ ।’

तीनकुनदेखि भानुचोक करिब २ किलोमिटर सडकखण्ड पर्छ । तीनकुनेदेखि जिरोपोइन्टसम्म ५ किलोमिटर सडक ६ लेन अन्तर्गत विस्तार हुन बाँकी छ । मेयर साम्पाङले आफु जनताको नीति सम्पत्ति भत्काएर विस्थापित गर्ने र उचित क्षतिपूर्ति पनि नपाउने कुराको पक्षमा नरहेको बताए । कानुनीरुपमा जनताले घर बनाएकोले क्षतिपूति वा मुआब्जाविना भत्काउन शुरु गरे अदालतबाट स्टे आर्डर आएर झनै अन्योल बढाउने भएकोले पनि समन्वय गर्दै सहमति जुटाएर काम गर्ने पक्षमा आफु रहेको पनि उनले बताए ।