धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डमा विरामी कुरुवा बस्न इटहरीबाट आएका चन्द्रध्वज कार्की आज (मंगलबार) बिहानै ८ बजेतिर खाजा खाना निस्किए । उनी पार्किङ गरेर राखेको आफ्नो मोटरसाइकल भएको ठाउँमा पुगे, तर भेटेनन् ।

अघिल्लो दिन पार्किङ गरि राखेको को ३८ प ९१३१ नम्बरको मोटरसाइकल नभेटेपछि उनी हतास बने । केहीबेर खोजी गर्दा पनि नभेटेपछि उनी प्रतिष्ठानको सुरक्षा जिम्मा लिएको भिआइपी सेक्युरिटीको अफिस पुगे । धन्न, उनको मोटरसाइकल राती चोरले डोर्याएर लैजादै गर्दा सेक्युरिटीले नियन्त्रणमा लिएको रहेछ । सेक्युरिटीले मोटरसाइकल डोर्याउदै गरेका युवासहितलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जानकारी पाएपछि उनी ढुक्क भए । 

भिआइपीका सेक्युरिटीका कमाण्डर सनम राईका अनुसार राती करिब साढे १ बजे एक युवाले सर्जरी वार्डतिरबाट मोटरसाइकल डोर्याउदै लैजादै थिए । त्यसक्रममा शंका लागेर सोधपुछ गर्दा ती युवाले शुरुमा बुबाको मोटरसाइकल हो भनेका थिए । तर, कडाई गरेर सोधपुछ गर्दा उनले चोरेर लैजादै गरेको खुल्यो । पक्राउ पर्ने धरान १५ श्याम चोकमा बस्दै आएका १७ बर्षीय समिर परियार भएको खुल्यो । तर उनको घर भने बराहक्षेत्र नगरपालिका ३, नडाह भएको खुल्यो । उनले वयानको क्रममा २ जना व्यक्तिले केही परसम्म मोटरसाइकल ल्याइदिन भन्दै २ हजार रुपैया दिने प्रलोभन दिएको खुलाए । मोटरसाइकल डोर्याउने युवालाई सेक्युरिटीले नियन्त्रणमा लिएको थाह पाउने बित्तिकै ती २ जना व्यक्ति भने फरार भएपछि पक्राउ पर्न सकेनन्। 

मध्यराती चोरसहित नियन्त्रणमा लिएको मोटरसाइकल खोजी गर्न बिहान पख कोही आउला कि भन्ने प्रहिशतक्षा भिआइपी सेक्युरिटीलाई थियो । नभन्दै मोटरसाइकल धनी बिहान करिब ९ बजेतिर कागजपत्रसहित आइपुगे । उनलाई सेक्युरिटीले प्रहरीमा गएर आवश्यक प्रक्रिया पुरा गरेर मोटरसाइकल लिन सुझाएर पठाएको थियो । सवारीधनी कार्कीले मोटरसाइकलको हेण्डिल लक गर्न आफुले बिर्सेको कारण चोरलाई सजिलो भएको हुनसक्ने बताए । मोटरसाइकल फेला परेपछि उनी खुशी देखिए ।

सेक्युरिटी कमाण्डर सनम राईले वीपी प्रतिष्ठानमा सवारीसाधन पार्किङको लागी ठाउँ तोकिएको भएपनि धेरैजसोले त्यहाँ पार्किङ नगर्ने र मोटरसाइकल अन्यत्र राख्दा हराउने गरेको बताए । प्रतिष्ठानले नै तोकेको ठाउँमा पार्किङ गरेमा मोटरसाइकल चोरी नहुने दाबी गर्दै उनले उपचारमा आउने सबैलाई सोही ठाउँमा पार्किङ गरिदिन पनि आग्रह गरेका छन् । 

भिडियो: