धरान: धरानमा बाइपास गरिएको मदन भण्डारी राजमार्गले पनि उठिबास लगाउने भन्दै पीडितहरुको संघर्ष समिति गठन भएको छ ।

यो राजमार्ग प्रभावित हुने धरान १७ का बासिन्दाहरुले बुधबार गोविन्दबहादुर श्रेष्ठको अध्यक्षतामा मदन भण्डारी राजमार्ग पीडित संघर्ष समिति धरान १७ गठन गरेका हुन् । झापाको बाहनुडाँगीदेखि डडेलधुरासम्मको करिब १२५० किलोमिटर राष्ट्रिय गौरवको आयोजना २०७५ सालमा घोषणा गरिएको थियो । यो सडक १४० फुटको हुनेछ । जसमा बीचबाट दाँयाबाँया २५÷२५ मिटर र सेडब्याक पनि हुनेछ ।

यो राजमार्ग धनकुटे रोड (पुरानो ट्राफिक अफिस), बुद्धचोक, रेल्वे हुदै चतरा जाने बाटो सर्वे गरेर एलाइमेन्ट तय गरिएपछि स्थानीयबासीहरुले आफ्नो घरजग्गा काटिएर उठिबास हुने भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन गरेका थिए । सोही आन्दोलनको कारण यो सडक बाइपास भएर तीनकुनेदेखि जंगलसँगै जोडिएको पुरानो घोपा क्याम्प जाने बाटो भएर लगिएको थियो । अहिले उक्त क्षेत्रमा काम धमाधम भइरहेको छ । धनकुटे रोडबाट सर्वे गरिएको मदन भण्डारी राजमार्गलाई बाइपास गराउन वर्तमान मेयर हर्क साम्पाङ पनि संघर्ष समितिमा बसेर आन्दोलन गरेका थिए । 

बाइपास गरिएपछि हाल यो सडकको मापदण्डले धरान १७ समिति मार्ग माथिल्लो उदय, तल्लो उदय, नमुना टोल र विद्या टोलका १३३ घर भत्कने देखिएको संघर्ष समितिले जनाएको छ । समितिले रेखांकन गरिएको सडकलाई कस्को चलखेलले बाइपास गरिएको हो भन्ने प्रष्ट पार्न सडक विभागसँग पनि माग गरेको छ । बाइपास गर्दा सुकुम्बासी घर नै भत्काउनुपर्ने कारण पनि स्थानीय सरकारले दिनुपर्ने संघर्ष समितिको माग छ । यस्तै, विकासको नाममा बस्तीबाट उठिबास गराउने चलखेलमा लगेका माफियालाई कारबाही गर्न, वनको क्षेत्राधिकार उल्लेख गरिनुपर्नेमा बस्तीबासीलाई झुक्याउने वन समितिलाई कारबाही गर्न र कुनै पनि हालतमा सुकुम्बासी जनताको एउटा पनि घर नभत्काउन समितिले माग गरेको छ ।

madan