धरान: मंगलबार ग्याल्बो ल्होसारको सार्वजनिक विदा । कार्यालय विदा भएपछि धरानका मेयर हर्क साम्पाङ बिहानै दुर्गम वडा नम्बर ४ को पनि विकट क्षेत्रमा बाटो अनुगमन गर्न पुगे ।

वडाअध्यक्ष धनबहादुर कुलुङ राई र अभियन्ता समिर तामाङको साथमा मेयर साम्पाङ वडा ४ को विकट क्षेत्र राजभण्डार हुदै मोरङको सिमाना सतिघाट, सेहरा खोलाको शिरसम्म पुगेका थिए । वडाअध्यक्ष राईका अनुसार सतिघाट जाने सडक गएको बर्षामा पहिरोसँगै झरेको ठुलठुलो ढुंगाले रोकिएको थियो । केही समयअघि मेयर साम्पाङ उक्त बाटोको अवस्था अनुगमन गर्न गएपछि नगरको जेसिबी (डोजर) पठाइदिएका थिए । एक सातासम्म उक्त डोजर र स्थानीयबासीले बाटोको ढुंगा र थुप्रिएको माटो पन्छाएर खोलिसकेपछि आज (मंगलबार) बिहानै मेयर साम्पाङ अनुगमनमा पुगेका हुन् ।

wada-4,yatra1

मेयर साम्पाङले सतिघाटसम्म जाने ट्रयाकलाई स्तरोन्नति गरेर मोरङसँग पनि जोड्ने बताए । साथै मलवासे र सेहरा खोलाको शिरको पानीबारे पनि अध्ययन गर्ने उनले बताए । सतिघाट जोड्ने बाटोको अनुगमन पछि मेयर साम्पाङले धरान हर्दिया, कन्यापोखरी निर्माणाधिन सडक पनि अनुगमन गरेका थिए । उक्त सडक निर्माण कार्य हाल रोकिएको छ । पेटी ठेक्का पाएको निर्माण कम्पनीले काम गरेवापत भुक्तानी नपाएको भन्दै काम रोकेको हो । यो सडक प्रदेशको बजेटबाट निर्माण भइरहेको हो । मेयर साम्पाङले काम सुचारु गर्न पहल गर्ने बताए । 

wada-4,yatra

धरानको वडा नं ४ मा हालसम्म साढे ३ सय मिटर मात्र सडक पक्की बनेको छ । वडाअध्यक्ष राईले मेयर आफै ग्रामिण क्षेत्रमा स्थलगत अनुगमनमा आइरहेको कारण विकासमा धेरै सहयोग हुने अपेक्षा व्यक्त गरे । मेयर साम्पाङले वडा ४, २० जस्ता ग्रामिण वडाको विकासमा प्राथमिकता दिने भनिरहेको र व्यवहारमा पनि उतारिरहेको भन्दै खुशी पनि व्यक्त गरे । अभियन्ता समिर तामाङले ग्रामिण क्षेत्रका जनताको जीवन कसरी बितिरहेको छ भन्ने थाह पाउन स्थलगत अवलोकन भ्रमण गर्न आवश्यक रहेको बताए । मेयर साम्पाङले मंगलबार वडा ४ को ग्रामिण क्षेत्रको भ्रमण सोही अनुसार भएको पनि उनले बताए । 

भिडियो: