धरान: धरान उपमहानगरपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने पानीपियामा राखेको सिमा प्रारम्भको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलिदिएको छ । 

कोशी लोकमार्गस्थित पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो सिमान प्रारम्भ भएको बोर्ड हिजो (आइतबार) राखेको थियो । धरानको उक्त बोर्ड राती नै एमाले निकट राष्ट्रिय युवा संघ इटहरीले उखेलिदिएपछि मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट कानुनी कारबाही अघि बढ्ने प्रतिक्रिया दिएका छन् । आफ्नो सिमा क्षेत्रमा बोर्ड राख्न कतै सोध्नुपर्ने वा समन्वय गरिराख्न नपर्ने उनले एक भिडियोमार्फत पनि बताएका छन् । 

हाल इटहरीले कोशी लोकमार्गको सेउती खोला पुलसम्म आफ्नो भुभाग दाबी गर्दै आएको छ । तर, यथार्थ भने त्यो होइन । नक्सामा धरानको सिमाना पानीपियासम्म छ, र सरकारले पनि सोही क्षेत्रफल अनुसार नै धरानलाई अनुदान पठाउदै आएको छ । साविक धरान नगरपालिका र हाँसपोसा गाविस हुँदा कोशी लोकमार्गको सेउती पुललाई सिमाना मान्ने चलन थियो । अहिले हाँसपोसा गाविस इटहरीमा गाभिएर उपमहानगरपालिका भएपछि इटहरी र धरानको सिमाना सेउती खोलाको पुललाई नै मानिन थालिएको थियो । सरकारले पानीपियासम्मकै क्षेत्रफल अनुसार धरानलाई बित्तिय बाँडफाड तथा अनुदान पठाइरहेको कारणले पनि आफ्नो सिमाक्षेत्रमा पर्ने पानीपियामा बोर्ड राख्न सोधिरहनु नपर्ने मेयर साम्पाङले बताएका छन् । 

हुन त धरान र इटहरीबीचको सिमा विवाद यो पहिलो पटक देखिएको होइन । यसअघि पनि सिमा विवाद हुँदा तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी र इटहरीका तत्कालिन मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमबीच धरानमा छलफल भएको थियो । उक्त छलफलमा सिमाना यकिन गर्ने सहमति भएपनि थप पहल र निष्कर्ष वा निर्णय भएको थिएन । पछि तत्कालिन मेयर तिलक राईको पालामा पनि सिमा विवाद उब्जिएको थियो, तर समाधान गर्न ठोस पहल हुन सकेको थिएन ।