धरान: सिमा विवादको बहस जनस्तरमा नै चर्किएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । साथै उनले धरानका मेयर हर्क साम्पाङलाई पत्राचार गर्दै संवाद र सहकार्यबाट अघि बढ्न आग्रह पनि गरेका छन् ।

कोशी लोकमार्गस्थित पानीपियामा आइतबार धरानले सिमा प्रारम्भ भएको बोर्ड राखेको केही समयपछि युवा संघ इटहरीले हटाइदिएपछि विवाद चर्किएको थियो । यो सिमा विवादले सामाजिक सञ्जाल तातिदै जादा इटहरीका मेयर पौडेलले पत्रकार सम्मेलन गरेका थिए । उनले प्रहरी, प्रशासनको स्थापनाकालदेखि नै धरान र इटहरीले आफ्नो कार्यक्षेत्र सिमा सेउती पुललाई मान्दै आएको, धरान र इटहरीका सामुदायिक वन उपभोक्ता समितिहरुले पनि सेउती पुललाई नै सिमा क्षेत्र मानेर वनको उपभोग, संरक्षण गर्दै आएको बताएका छन् । 

मेयर पौडेलले धरान उपमहानगरपालिका प्रमुखलाई संवाद, सहकार्य, छलफल र सहमतिको लागी पत्राचार पनि गरेका छन् । उनले दुई पालिकाबीच बसेर साझा मुद्दाहरुमा छलफल गर्न प्रतिवद्ध रहेको र हदैसम्मको लचकता अपनाएर संवाद, सहमतिको माध्यमबाट सहकार्य गर्दै इटहरी र धरानको सम्बन्ध मजबुद बनाउन चाहेको पनि बताएका छन् । 

भिडियो:

धरानले आफ्नो सिमाना प्रारम्भ भएको बोर्ड आइतबार पानीपियामा राखेपछि पुरानो विवाद बल्झिएको थियो । धरान र इटहरीबीचको सिमा विवाद यो पहिलो पटक देखिएको भने होइन । यसअघि पनि सिमा विवाद हुँदा तत्कालिन धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी र इटहरीका तत्कालिन मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमबीच धरानमा छलफल भएको थियो । उक्त छलफलमा सिमाना यकिन गर्ने सहमति भएपनि थप पहल र निष्कर्ष वा निर्णय भएको थिएन । उपनिर्वाचन पश्चात धरानका मेयर भएका तिलक राईको पालामा पनि सिमा विवाद उब्जिएको थियो ।

साविक धरान नगरपालिका र हाँसपोसा गाविस हुँदा कोशी लोकमार्गको सेउती पुललाई सिमाना मान्ने चलन थियो । अहिले हाँसपोसा गाविस इटहरीमा गाभिएर उपमहानगरपालिका भएपछि इटहरी र धरानको सिमाना सेउती खोलाको पुललाई नै मानिन थालिएको थियो । तर, नेपाल सरकारको प्रशासनिक नक्सामा भने धरानको सिमाना पानीपियासम्म छ भने सोही क्षेत्रफलको आधारमा सरकारले स्थानीय तहलाई पठाउने अनुदान धरानले प्राप्त गरिरहेको छ । सोही आधारमा नै धरान उपमहानगरपालिकाले पानीपियासम्म आफ्नो सिमा क्षेत्र दाबी गर्दै बोर्ड राख्ने प्रयास गरेको हो । 

itari letter