धरान: सुनसरी उद्योग वाणिज्य संघ ऐन वमोजिम धरान खानेपानी व्यवस्थापन बोर्डको पदेन सदस्य रहेको छ । संघको अध्यक्षमा जो निवार्चित हुन्छन्, उनी संघको प्रतिनिधित्व गर्दै बोर्ड सदस्य हुन्छन् ।

विगत एक बर्षदेखि भने खानेपानी बोर्डको बैठक बस्न सकेको छैन । मेयरमा निवार्चित भएर आएका हर्क साम्पाङ बोर्डको अध्यक्षको हैसियतमा छन् । तर, निवार्चित भएर आएदेखि बोर्ड बैठक राख्न नसकेको आरोप उनलाई छ । बैठक नराखिएपनि बोर्डमार्फत विभिन्न गतिविधिहरु सञ्चालन भइरहेको छ भने आय र व्यय पनि भइरहेको छ । आज (आइतबार) यस्तै विभिन्न ४ वटा प्रश्न लिएर सुनसरी उद्योग वाणिज्य संघ धरानको टोली खानेपानी बोर्डमा पुगेको थियो ।

संघका अध्यक्ष विजय श्रेष्ठ, पुर्वअध्यक्ष गिरीधारी सापकोटा, वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, महासचिव महेन्द्र प्रधान, वाणिज्य सचिव किसन मास्केलगायतको टोली बोर्डको कार्यालयमा पुगेका थियो । संघले बोर्डका कार्यकारी निर्देशक राज पोखरेललाई ४ बुँदाको प्रश्नसहित जानकारी लिन माग गर्दै पत्र बुझाएको छ । साथै, संघले ऐन वमोजिम एक साताभित्र बोर्ड बैठक बोलाउनसमेत अनुरोध गरेको छ । 

भिडियो :

संघले बोर्डको दैनिक गतिविधिहरु के कस्तो प्रक्रिया तथा निर्देशनबाट सञ्चालन भइरहेको छ ? भनेर प्रश्न गरेका छन् । बोर्डको ऐन २०६३ को दफा १४ को उपदफा १ वमोजिम बर्षको ६ पटक वा तीन महिनाको फरकमा बोर्ड बैठक अनिवार्य बस्नु पर्ने भएपनि पदेन सदस्य रहेको संघलाई बैठक बस्ने जानकारी एक बर्षदेखि नभएको भन्दै बैठक बसेको छ कि छैन ? बसेको भए किन नबोलाएको ? भन्ने प्रश्न गरेको छ ।

यस्तै, बोर्डको हालसम्म सम्पन्न भएका हरहिसाब नियमित बैठकको प्रक्रिया पुरा गरेर गरेको छ कि छैन ? चालु आर्थिक बर्षको आय व्यय हरहिसाब हालसम्म बोर्ड बैठकबाट पारित गरिएको छ कि छैन ? भन्ने पनि प्रश्न गरेको छ । बोर्डको दैनिक कामहरु बैठक नबसी कस्को निर्देशनमा भइरहेको छ ? भन्ने पनि प्रश्न गरेको छ । 

कार्यकारी निर्देशक पोखरेलले बोर्ड बैठक अध्यक्षको निर्देशनमा आफुले बोलाउनुपर्ने भन्दै मागबारे अध्यक्ष रहेका मेयरलाई जानकारी गराउने बताए । उनले ऐन वमोजिम नै काम भइरहेको दाबी गर्दै कतिपय निर्णयहरु बोर्ड अध्यक्षस्तरीय भएर काम भएको पनि बताए । तर, कतिपय ती निर्णयहरु भने बोर्ड बैठकबाट अनुमोदन हुनुपर्ने पनि बताए । 

fncc

fncc1