धरान: जुन २१ तारिखलाई विश्व संगीत दिवसकोरुपमा विश्वभरका संगीतकर्मीहरुले मनाउने गरेका छन् ।

यसपाली असार ६ गते (बुधबार) नै यो दिवस परेपनि धरानमा भने हिजो (शनिबार) मात्र मनाइयो । एक दशकअघि स्थापना भएको धरान संगीत प्रतिष्ठानले बर्षेनी विश्व संगीत दिवसको अवसरमा धरानमा लाइभ सांगीतिक कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले हिजो साँझ धरान १५ स्थित चुम्लुङ हिममा आयोजित सांगीतिक कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ गीतकार श्याम तमोट र गायिका हर्षु राईलाई सम्मान तथा अभिनन्दनसमेत गर्यो ।

सम्मानित व्यक्तित्वहरुलाई प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रमुख अतिथि एवं प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वरिष्ठ गायक दिप श्रेष्ठले सम्मान तथा अभिनन्दन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष राईले संस्थाको संरक्षक मेयर रहने व्यवस्था गरिएको जानकारी दिदै गीत, संगीतको विकासको लागि उपमहानगरपालिकाबाट आवश्यक बजेट विनियोजना गरिदिन आग्रह पनि गरेका थिए । उनले प्रतिष्ठानलाई संगीत एकेडेमीकोरुपमा अघि बढाउने योजना रहेको पनि बताए । 

मेयर साम्पाङले गीत, संगीतको क्षेत्रमा आवश्यक सहयोग गर्ने बताएका थिए । कार्यक्रममा वरिष्ठ गायक दिप श्रेष्ठ, गायिका लोचन भट्टराई, मेयर हर्क साम्पाङ, वडाअध्यक्ष रमेश राईसँगै धरान, इटहरीका गायक, गायिकाहरुले पनि गीत गाएका थिए । 

भिडियो:

भिडियो:

भिडियो: