धरान: विष्णु मेमोरियल स्कुल धरानले आफ्ना विद्यार्थीहरुलाई दुना-टपरी तालिम आयोजना गरेको छ । 

विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना-टपरी तालिम दिएको हो । खानाको परिकार तथा खाद्यान्न राख्न प्रयोग हुने दुना टपरी नेपाली परम्परागत सीपबाट बनाइएको सामग्री हो । हिजोआज भने आधुनिक सामग्रीहरु भित्रिएसँगै दुना-टपरीको प्रयोग हुन छोडेको छ । परम्परागत यो सीप तथा सामग्री पनि लोप हुदै गएको छ । नेपाली समाजमा सांस्कृतिक महत्व पनि बोकेको दुना-टपरीको महत्व बुझाउन आफ्ना विद्यार्थीहरुलाई तालिम दिइएको विष्णु स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । 

तालिममा ५० भन्दा बढी इच्छुक छात्र-छात्राहरू सहभागी भएका थिए । तालिमले परम्परागत सीपको विकास तथा सम्बद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको प्रिन्सिपल श्रेष्ठले बताए । उक्त कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न भएको थियो। असार १५ र १६ गते दुई दिन आयोजना भएको तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदी तथा आमन्त्रित प्रमुख प्रशिक्षक धरान विजयपुरका उषा कुमारी गुरागाईंले प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा उपस्थित अभिभावक भेषराज घिमिरेले विद्यालयले सीपमुलक तालिम दिएर विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासँगै सीप पनि दिएकोमा खुशी व्यक्त गरे । साथै यस प्रकारको तालिम विद्यार्थीहरुलाई मात्र नभै सबैको लागि आवश्यक छ भन्ने शिक्षा समेत दिएको उनले बताए । 

duna tapari1