धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता (मेडिक्विज नेपाल २०२३) को चौथो सँस्करण सम्पन्न भएको छ । 

प्रतिष्ठानको सहयोगमा विपीकेआइएचएस स्टुडेन्टस् ब्लड डोनेसन कमिटी (बिडिसी) र विद्यार्थी कल्याण समाजको सहकार्यमा आयोजित प्रतियोगितामा नेपालका विभिन्न ७ वटा मेडिकल कलेजको सहभागिता रहेको थियो । प्रतियोगितामा विभिन्न कलेजका स्नातक तहमा अध्ययनरत तथा इन्टर्न डाक्टरहरुको ११ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा वीपी प्रतिष्ठानको समुह ए का दिवाकर कोइराला, करुण भट्टराई र आशिष बाँनियाँ प्रथम भए । 

यस्तै, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस काठमाण्डौंका अनुपमा मरासिनी, पवन जैसवाल र युवराज अधिकारीको टिम दोस्रो भयो भने नेबेल मेडिकल लकेज विराटनगरका सौरभ पौडेल, उमेश साह र गौरव सिंह साउदको टिम तेस्रो भयो । प्रतियोगिताको निर्णायकहरुमा प्रा.डा.विष्णुहरि पौडेल, प्रा.डा.माधव लम्साल र डा.रबिन मास्के रहेका थिए । कार्यक्रमको अध्यक्षता डा. रिता खड्काले गरेकी थिइन् भने क्विज मास्टर डा.कुमुद चापगाईले कार्यक्रम सञ्चालन गरेका थिए । 

mediquiz1

प्रतिष्ठानका शैक्षिक डीन प्रा.डा.शिवेन्द्र झाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन असार २९ गते भएको थियो । प्रतियोगिताको समापन समारोह भने प्रतिष्ठानका परीक्षा डीन प्रा.डा.कृष्णा पोखरेलको प्रमुख आतिथ्यमा असार ३० गते भएको आयोकज समिति सदस्य सचिव निरज चापागाईले जानकारी दिए । प्रतियोगितामा विजयी प्रथम, दोश्रो र तेश्रो टोलीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा.प्रहलाद कार्कीले प्रतिष्ठानको तर्फबाट सहभागी भएर प्रथम भएको टोलीका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । 

प्रतियोगितामा वीपी प्रतिष्ठानसँगै इन्स्टिच्यूट अफ मेडिसिन महाराजगंज, काठमाडौं, मनिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरा, नोबेल मेडिकल कलेज विराटनगर, यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा, विराट मेडिकल कलेज विराटनगर र नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, काठमाडौं सहभागी रहेको थियो ।