धरान: डेंगु महामारीले ग्रसित बनेको धरानमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु स्थानीय सरकारले नियन्त्रणको लागि ठोस कार्ययोजना नल्याएको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले डेंगु नियन्त्रण गर्न लार्भाको खोज र नष्ट गर अभियानको लागि राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता र संगठन किन परिचालन नगरेको भन्दै सामाजिक सञ्जालमा प्रश्न पनि उठाइरहेका छन् । 

विगत २ महिनादेखि फैलिएको डेंगुले धरानमा ७ जनाको ज्यान गइसकेको छ । स्थानीय सरकारले भर्खर मात्र एकीकृतरुपमा सर्च एण्ड डिष्ट्रोय अभियान गरिरहेको छ । राजनीतिक दलहरुले किन मौनता साधेको भन्दै आलोचना भइरहदा जनता समाजवादी पार्टीले भने विगत एक सातादेखि डेंगु विरुद्ध धरानमा सर्च एण्ड डिष्ट्रोय अभियान गरिरहेको छ । डेंगुविरुद्ध धरानमा फिल्डमा उत्रने जसपा मात्र एक राजनीतिक दलकोरुपमा देखिएको छ । 

jasapa

जसपाका धरान अध्यक्ष ताजुब लिम्बु आफै यो अभियानमा सहभागी छन् । जसपाले धरान ११ मंगलबारे चोकबाट डेंगुविरुद्धको जनचेतनामुलक तथा खोज र नष्ट गर अभियान थालेको थियो । धरानको वडा ११ पछि वडा १७ मा पनि जसपाले अभियान गरेको थियो । धरानमा वडा ११ र १७ डेंगुको बढी प्रभावित क्षेत्र हो । अध्यक्ष लिम्बुका अनुसार धरान ११ वाट सुरु गरेको अभियान वडा १७, १२, हुदै १५ नम्बरमा पनि भएको छ भने बुधवारदेखी ९ नम्बर वडामा सुरु भएको छ । धरानको सबै वडामा डेंगु महामारी रोकथाम तथा नियन्त्रण अभियान गर्ने पार्टी अध्यक्ष लिम्बुले बताए । 

सरकारको मात्र भरोसमा नबसेर राजनीतिक दलहरुको पनि जिम्मेवारी भएकोले एक सातादेखि अभियान गरिरहेको अध्यक्ष लिम्बुले बताए । जसपाले सचेतना अभियानसँगै विरामीलाई सिटामोल समेत वितरण गर्दै आएको छ । अभियान अन्तर्गत लार्भा मार्ने तथा जमाएर राखेको पानी पोखाइदिने गरेको पनि अध्यक्ष लिम्बुले बताए । साथै डेंगुबाट कसरी बच्न सकिन्छ भन्ने पर्चा समेत वितरण भइरहेको उनले बताए ।