धरान: डेंगु महामारी नियन्त्रणमा आउन नसकिरहेको बेला धरानकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले मेयर हर्क साम्पाङलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन सुझाव दिएकी छिन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्वउपमेयर भण्डारीले बोर्डमा स्थानीय सरकार लेखेर र भाषण गरेर मात्र सरकार नहुने भन्दै जनताको जीवनमा सरकार भएको अनुभूति दिलाउनुपर्ने बताएकी छिन् । उनले संकट र महामारीमा जनतालाई साथ दिईएन भने लोकप्रिय प्रचारले केही नहुने पनि बताएकी छिन् ।

विगतमा कोभिडको महामारी हुँदा पूर्व क्षेत्रका उत्पादक किसानसँगको समन्वयमा, कृषि उपज वजार तथा धरानका कृषि जन्य व्यवसायीहरूको सहकार्यमा थोक र खुद्रा मूल्य सूची सहित घर घरमा सस्तो र ताजा तरकारी, दुग्ध पदार्थको आपूर्ति  व्यवस्था मिलाएको पनि उनले स्मरण गरेकी छिन् । यस्तै, डेंगु प्रकोप ४०० जनामा पुग्ने बित्तिकै स्वास्थ्य संकट वडा घोषणा गरेर कार्यक्रम केन्द्रीत गरि नियन्त्रणमा लिईएको पनि उनले उल्लेख गरेकी छिन् । 

'आज डेंगुको प्रकोप सँगै  जुसको मूल्य, निजि स्वास्थ्य  संस्थामा परिक्षण शुल्क आकासिएको छ । व्यवसायीहरूलाई र उपभोक्ताहरूलाई सहज बनाउन सामाजिक सञ्जालमा आदेश गरेर पुग्दैन भन्ने हाम्रो अनुभव छ,' भण्डारीले लेखेकी छिन्,'उखु र नरिवल उत्पादकसम्म पुग्ने, व्यवसायीसँग समन्वय वैठक गर्ने, निजि क्षेत्रका स्वास्थ सेवा प्रदायक सम्पूर्ण व्यवसायीसँग समन्वय वैठक गरि दर रेट कायम गरेर मूल्यमा सहजता र सेवामा सरलता ल्याउन सकिन्छ ,जो हामीले विगतमा गरेका थियौं डेंगुका सम्पूर्ण परिक्षण नीजि क्लिनिकहरूमा ६ मा गर्ने व्यवस्था मिलाएका थियौं  । '

पुर्वपमेयर भण्डारीले नियमित सकारात्मक र उत्प्रेरणा दिने अनुगमन जरूरी रहेको भन्दै कामहरू परिणामका लागि गरे प्रचार आफैं हुने पनि बताएकी छिन् । साथै उनले स्थानीय सरकारले बोलाएमा अनुभव सेयर गर्दै निस्वार्थ सहयोगका लागि तयार भएको पनि उल्लेख गरेकी छिन् ।