धरान: शुल्क अत्यधिक वृद्धि भएपछि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । 

ईञ्जिनियरीङ अध्ययन संस्थान (आइओई), डिन कार्यालयले २ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजो मंगलबार नै क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेका थिए भने आज (बुधबार) शुल्क वृद्धिको विरोधमा भानुचोकसम्म र्याली निकालिका थिए । शुल्क वृद्धिको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने क्याम्पसका स्ववियु सभापति नविन श्रेष्ठले बताए । 

उनका अनुसार पुर्णशुल्कीयतर्फ ३ लाख २० हजार रहेको शुल्क एक्कासी वृद्धि गरेर ७ लाख ७५ हजार बनाइएको छ । यसअघि डिन कार्यालयबाट छलफलमा आएका २ जना प्रतिनिधिहरुलाई शुल्क कुनै हालतमा नबढाउन सबै विद्यार्थी संगठनहरुले सुझाव दिएपनि वेवास्ता गर्दे वृद्धि गरिएको उनले बताए । डिन कार्यालयबाट धरानमा आएर वार्ता गरि सहमति नगरेसम्म आन्दोलन नरोकिने उनले बताए । 

purwanchal1

मेकानिकल इञ्जिनियरीङ तेस्रो बर्षका विद्यार्थी मिलन पुडासैनी शुल्क वृद्धिले सर्वसुलभरुपमा गरिबका छोराछोरी पढ्न नपाउने अवस्था बनेको बताउछन् । सरकारी क्याम्पस व्यापारीकरण तर्फ अघि बढेको भन्दै उनले यो निर्णयबाट डिन कार्यालय फिर्ता हुनुपर्ने बताए । क्याम्पस प्रमुख काजीराम कार्कीले शुल्कवृद्धिको बिषय आफ्नो क्षेत्राधिकारमा रहेको र डिन कार्यालयलाई विद्यार्थीहरुको आन्दोलन, क्याम्पसको अवस्थाबारे जानकारी दिइसकेको बताए । ईञ्जिनियरींग अध्ययन संस्थान (आइओई) ले पुर्वाञ्चल क्याम्पस धरानसहित देशभरका ५ वटै आंगिक क्यामपसमा लागु हुने गरि शुल्कवृद्धि गरेको हो । 

भिडियो: