धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।

मन्त्री राईले बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव विथोल्ने कार्यहरु सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे । लोकतन्त्रमा अधिकार माग्ने र विरोध जनाउन पाउने अवस्था भएको तर अर्काको अधिकार हनन् गर्न नहुने पनि धारणा व्यक्त गरे । ‘धरानमा सामाजिक सद्भाव खलबलिने किसिमको कामहरु हुन खोजिरहेको छ, त्यो चिजलाई हामी सबैले मिलेर निरुत्साहित गर्नुपर्छ,’मन्त्री राईले भने ।

मन्त्री राईले सबैलाई संयमता अपनाउन आह्वान गर्दै जुनसुकै धर्मका भएपनि नेपाली भएको मनन गर्न पनि आग्रह गरे । ‘मेरो हार्दिक निवेदन छ, सबै पक्षका साथीहरुलाई धैर्य, संयम, सद्भाव, आपसी प्रेमलाई कहिल्यै पनि थिचोमिचो नपुर्याई, त्यसलाई कुल्चिएर अगाडि बढ्ने कोसिस नगरौं,’ मन्त्री राईले भने,‘चाहे हामी हिन्दु हौं, चाहे हामी मुसलमान हौं, चाहे हामी बौद्ध धर्मावलम्बी होै, चाहे ख्रिष्टियन हौं । हामी त नेपाली नै हौं ।’

मन्त्री राईले धार्मिक सहिष्णुता, साँँस्कृतिक समानता, आपसी सम्मान र सद्भावको अवस्थालाई खलबलाउन नदिन आह्वान गरे । उनले सबै मिलेर जानुपर्ने धारणा राख्दै मन्दिरसँगै मञ्जिद, गुम्बासँगै गिर्जाघर मिलेर बस्नसक्ने वातावरण बनाउनु नै सबैको जित हुने बताए । मन्त्री राईले को ठुलो, को सानो गर्न थालेमा घृष्णा जन्माउने र घृणाको आगोले सबैलाई जलाउने बताए । ‘प्रेम र सद्भावले यो समाजलाई उनौं, समाजलाई जोडौं, नतोडौं,’उनले भने,‘एकछिनको लागि आत्मतुष्टी, अहंतुष्टी होला तर त्यसको दीर्घकालिन असर के हुन्छ ? हाम्रो समाज कहाँ जान्छ ? गम्भीरतापुर्वक ख्याल गरेर सबैप्रति सम्मान गर्ने, सद्भाव राख्ने दृष्टिबाट अघि बढौं ।’

भिडियो: