धरान: धरान वडा नं २ पुरानो बजारका युवा सोहम श्रेष्ठ धरान १६ स्थित सुस्त मनस्थिति बाल कल्याण विद्यालयमा पढाउछन् । उनी ४ बजे पछिको समयमा भने वडा नं ५ खैरेनीस्थित आफ्नै कृषि फार्ममा भेटिन्छन् ।

यो वडा साविक पाँचकन्या गाविस क्षेत्रको हो । २०७१ मा धरानमा गाँभिएर उपमहानगरपालिका भएपनि यो वडा अझै सहर बन्न सकेको छैन । यता सहर (साविक धरान) मै जन्मिएर हुर्किए पनि सोहमलाई भने त्यही ग्रामिण परिवेशले तान्यो, र साथीसँग मिलेर करिब ५ बर्षअघि ओम शिव शक्ति कृषि फार्म नै खोले । त्यो बेला कोरोना महामारीले लकडाउन थियो, लकडाउन हटेपछि उनीहरुले फार्म खोल्ने सुर कसे ।

good vibes4

अहिले त्यही ठाउँमा गुड भाइब्स् फार्म स्टे पनि थपेका छन् । धरान १५ महादेव चोकबाट पुर्व सेउती, सेहरा खोला कटेपछि ठिंगाबारीस्थित वडा नं ५ को कार्यालय र टिकटक रिसोर्ट जाने स्वागत गेटको उकालो पुगिन्छ । आरसिसि ढलानको उक्त स्वागत गेट ठडिएको बाटो नपुग्दै पुर्वतर्फ एउटा कच्ची बाटो मोडिन्छ । त्यही बाटोबाट टिकघारी हुदै पुगिन्छ, गुड भाइब्स् फार्म स्टे । 

सहरको ब्यस्तता, भीडभाड र कोलाहलबाट दिक्क भएकाहरुको रोजाई अहिले यही गुड भाइब्स् फार्म स्टे बनिरहेको छ । त्यहाँ बबाल लाग्ने त्यस्तो ठुलो संरचना त केही छैन । एउटा माछा पोखरी छ, जहाँ फिसिङ गर्न सकिन्छ । बसेर खानलाई सामान्य हटहरु छन्, बिबिक्युको व्यवस्था छ । राती सुत्नलाई टहरा र टेण्टको व्यवस्था छ । रेष्टुरेष्ट पनि चलाएका छन् । 

Good vibes1

‘र पनि शान्त वातावरण छ, गाउँघरको फिलिङ्स् आउछ,’ सोहम भन्छन्, ‘दिनभरि काम गरेर थकित भएपछि एकान्त र शान्त वातावरण खोज्दै यहाँ आउने ग्राहकरु धेरै छन् ।’ उनका उमेरका युवाहरु युरोप, अमेरिका जाने सपना देख्दा सोहमलाई भने कहिल्यै त्यस्तो सोच आएन । बरु आफ्नै ठाउँमा केही गरौं भन्ने सोचलाई यथार्थमा परिणत गरे । 

परिवार पनि उनको कर्मदेखि सन्तुष्ट छन् । ‘मलाई त यही आनन्द लाग्छ, परिवार पनि सन्तुष्ट नै छन् । सँगै बस्नु ठुलो कुरा हो नि ! कसैलाई धेरै र छिटो कमाउन मन हुन्छ, मलाई त्यस्तो लागेन,’ उनी भन्छन्, ‘स्कुलको तलब पनि यही खर्च गर्छु ।’

good vibes2

गुड भाइब्स्मा उनकै घनिष्ट साथी विशाल राई मेनेजर छन् । उनी चै ८ बर्ष विदेश बसेर फर्किएका हुन् । अहिले आफ्नै देशमा फार्म स्टेमा उनी रमाइरहेका छन् । भन्छन्, ‘अरुको देशमा गुलामी गरेर बस्नु भन्दा आफ्नै देशमा मालिक भएर बस्नु राम्रो, आखिर एक दुइ पैसा पनि कमाई हुन्छ ।’ 

‘फार्ममा काम गर्ने मान्छे नपाएर होटल खोल्यौं’

अहिले फार्म भएको ठाउँ सोहमको परिवारकै पुख्यौली जग्गा हो । त्यहाँ धान फाल्थ्यो । उनी धान लिन पुग्थे । उनको एक जना साथीले मधेशमा कृषि फार्म खोलेका थिए । त्यही देखेर उनलाई पनि यहाँ केही गर्न मन लाग्यो, र साथीहरुसँग सरसल्लाह गरेपछि ओम शिवशक्ति कृषि फार्म जन्मियो । 

good vibes5

आफ्नै जग्गा भएकोले खरिद गर्न लगानी गर्नुपरेन । फार्म खोल्दा भने अर्का साथी जेशनसँग मिलेर लगानी गरेका छन् । जेशन भने अहिले क्यानाडामा छन् । उनीहरुले पोखरीमा माछा पालनबाट कृषि फार्म शुरुवात गरेका थिए । फार्मको शुरुवात गर्दा साथीभाई त्यही जमघट हुन्थ्यो, उनीहरु काम गर्ने र अब के गर्ने भनेर सल्लाह पनि हुन्थ्यो ।

माछापालनसँगै उनीहरुले लगानी थपेर लोकल हाँस र कुखुरापालन शुरु गरे । तर, काम गर्ने मान्छे नपाउदा समस्या भएको श्रेष्ठको तीतो अनुभव छ । ड्रयागन फ्रुटको खेती गरेपनि बाख्राले खाइदिएर फष्टाउन सकेन । ‘गाउँघरमा युवा छैनन् । काम गर्ने मान्छे टिकाउन नै गाह्रो भयो । केही महिना काम गर्ने, र छोडेर गइहाल्ने,’उनले भने,‘त्यसैले फार्म मात्र गर्न छोडेर होटल तिर पनि लाग्यौं, र गुड भाइब्स् खोल्यौं ।’

‘फुल मुनले जन्मिएको हो, गुड भाइब्स्’

कृषि फार्म शुरुमा बिजुली पनि थिएन । साथीभाईहरु फुल मुन (पुर्णिमा) को रात उज्यालो हुने भएकोले टेण्टमा बस्थे । सोसल मिडियामार्फत केही प्रचार हुन थालेपछि पाहुनाहरु पनि आउन थाले । अनि, शुरु भयो गुड भाइब्स्मा टेण्ट स्टे । ‘मान्छेहरु आउन थालेपछि खाना, खाजा खोज्न थाले, अनि होटलको खाँचो भएर खोल्यौं,’ श्रेष्ठले भने ।

फार्म स्टेमा बिशेष गरी राती रमाइलो हुन्छ । जाडो महिनामा पाहुनाहरु धेरै आउछन् । आगोमा मासु पोल्दै रमाउने र टेण्टमा बास बस्न आउने संख्या बढ्दै गएको छ । टेण्टमा सुत्दा चिसो नलागेस् भनेर म्याट र मोटो डस्ना नै दिने गरेको सञ्चालक श्रेष्ठले बताए । ‘टेण्टमा ३२ जनासम्म राखेका छौं, एउटा ठुलो टेण्टमा १०, १२ जना अट्छ । ३, ४ जना अट्ने सानो टेन्ट पनि ८,९ वटा छ,’ उनले भने ।

मेनेजर विशाल राईका अनुसार पाहुनाहरु आफैले पिउने, खाने सामान लिएर आउदा भेनु चार्ज मात्र २५ सय तिर्नुपर्ने हुन्छ । खानेकुरा, ड्रिङ्क्स् होटलकै चलाउने भए कोइला र स्टेण्डको मात्र ५ सय शुल्क लाग्छ । 

good vibes6

‘फिसिङ गर्नलाई रड चलाएको सय रुपैया मात्र लिन्छौं । शुरुमा रड फ्रि नै दिन्थ्यौं, तर लापरवाही गरेपछि सय रुपैया लिन थालेको हो,’ मेनेजर राईले भने, ‘माछा पर्यो भने किलोको दरमा किनेर लैजादा हुन्छ, नलाने भए पनि हामी नै राख्छौं ।’

उनका अनुसार गुड भाइब्स् खोल्ने समय दिउँसो साढे २ देखि ३ बजे हो । तर, बुकिङ गरेर आउने भए त्यो समयभन्दा अघि नै खोलिदिने पनि मेनेजर राईले बताए । 

स्वीमिङ पुलसहित यस्ता छन् भावी योजना 

फार्म स्टे भएको ठाउँमा २ बिघा जग्गा छ । पुर्णरुपमा सदुपयोग गर्न भने बाँकी छ । सञ्चालक श्रेष्ठले त्यहाँ बच्चाहरुलाई खेल्ने प्ले ग्राउण्ड बनाउने भावी योजना पनि बुनेका छन् । 

अहिलेको फार्म स्टे पछाडिको खाली जग्गामा एउटा व्यवस्थित कटेज र गार्डेन बनाउने योजना पनि उनको छ । ‘स्वीमिङ पुल बनाउने योजना पनि छ । पाँच बर्षमा यहाँसम्म आइपुगियो, अबको १० बर्षसम्म अटोपाइलट मुडमा चल्ने गरि एउटा व्यवस्थित रिसोर्ट नै बनाउने योजना छ,’ श्रेष्ठले भने, ‘अहिलेका बच्चाहरु जनावर किताब, भिडियोमा मात्र देख्छन्, यहाँ जनावरहरु पनि पाल्ने मन छ ।’

जग्गा किन्नु नपरेपनि अहिलेसम्म ४५ लाख बढी लगानी भइसकेको छ । फाइदा के कति भयो भनेर उनले हिसाब गरेका छैनन् । ‘यो मेरो भविष्य हो, नाफा पाएको छैन, तर भविष्य बनाउदैछु,’ श्रेष्ठले गर्विलो भावमा भने ।

भिडियो: