धरान: नगर अस्पताल स्थापना गर्नेबारे धरान उपमहानगरपालिकाले बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग छलफल गरेको छ। 

धरान १ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल बनाउने बिषयमा छलफल गर्ने भन्दै मेयर हर्कराज राईले बुधबार दिउँसो २ बजे राजनीतिक दल र विपी प्रतिष्ठानलाई छलफलमा बोलाएका थिए । स्वास्थ्य वीमा बोर्डले असोज मसान्तसम्मको लागि मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य सेवा वीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेको छ । त्यसपछि नगरको आफ्नै नगर अस्पताल वा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिसक्नुपर्ने भएपछि मेयर राईले दल र प्रतिष्ठानलाई छलफलमा बोलाएका हुन् । केही दिनअघि राजनीतिक दलहरुले ज्ञापन पत्र बुझाउदै नगर अस्पताल र स्वास्थ्य वीमा सेवाबारे आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

nagar hospital1 copy

करिब डेढ घण्टा छलफल भएपनि सहमति भने जुट्न सकेन । राजीतिक दलका नेताहरुले सके विपी प्रतिष्ठानमै प्रथम सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, नभए पुरानो अस्पतालमा आधारभुत स्वास्थ्य केन्द्र वा नगर अस्पताल सञ्चालन गरेर भएपनि सेवा अवरुद्ध हुन नदिनुपर्ने धारणा राखेका थिए । साथै, दलका नेताहरुले उपमहानगरकै नेतृत्वमा सर्वदलीय समिति गठन गरेर विपीको नाममा गएको पुरानो अस्पतालको जग्गा फिर्ता ल्याउन पहल गर्नुपर्ने पनि सुझाव दिएका थिए । 

दलका तर्फबाट कांग्रेस सभापति श्याम पोख्रेल, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, एमालेका उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष उद्धव लिम्बु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राई, जसपाका अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, राप्रपाका अध्यक्ष नरेश शाक्यलगायतले आआफ्नो धारणा राखेका थिए ।  

किन भएन सहमति ?

nagar hospital copy

मेयर राईले नगर, प्रदेश र संघीय सरकारको सहयोगमा छाताचोकमा नगर अस्पताल बनाएर सञ्चालन गर्ने र यसको लागि केही बजेट विनियोजन गर्ने पनि बताएका थिए । उनले उक्त नगर अस्पताल उपमहानगरपालिकाकै मातहतमा रहने र विपी प्रतिष्ठानले प्राविधिकरुपमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए । साथै, सरकारले पुरानो अस्पतालको जग्गा नगरलाई नै फिर्ता गर्नुपर्ने पनि बताएका थिए।

छलफलमा सहभागी प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले विपी प्रतिष्ठान धरानकै सम्पत्ति भएको धारणा राखेपनि नगर अस्पताल विपी आफैले सञ्चालन गर्ने अवधारणा रहेको बताएपछि सहमति जुट्न सकेन । ‘नाम नगर अस्पताल नै हुन्छ, तर विपीकेआइएचएसको हो भनेर हुन्छ । बीच बीचमा नगरपालिका, प्रदेश र संघको निरन्तर सहयोग चाहिन्छ,’ उनले भने,‘विपीले शाखाकोरुपमा नगर अस्पताल सञ्चालन गर्न चाहन्छ, यो अहिलेसम्मको निर्णय हो, तर विपी एक्लैले गर्न सक्दैन, त्यही भएर सबै मिलेर गरौं भन्ने हो ।’

अस्पताल निर्देशक डा.जगत नारायणले अस्पताल सञ्चालन गर्न एउटा समिति गठन हुने र उक्त समितिले निर्णय गर्दै फाष्टट्रयाकमा सञ्चालन हुने पनि धारणा राखे । ‘समिति गठन हुन्छ । त्यो समितिमा नगर सरकार, प्रदेश सरकार, विपी प्रतिष्ठान, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि र स्थानीयको प्रतिनिधिहरु राखेर उसैले फाष्ट ट्रायकमा काम हुन्छ,’ उनले भने,‘विपीले विभिन्न स्तरमा हस्पिटल बनाउनसक्छ । आधारभुत स्वास्थ्य सेवा नाम गरेर भएपनि  त्यहाँबाट विपीले सेवा दिन्छ ।’

पत्रमा गरिएको सम्बोधनप्रति नेताहरुको असन्तुष्टी

nagar hospital2 copy

राजनीतिक दलका नेताहरुले उपमहानगरपालिकाले छलफलको लागि बोलाउनु सकरात्मक भएपनि दलहरुलाई पठाएको पत्रमा गरिएको सम्बोधनप्रति भने असन्तुष्टी प्रकट गरेका थिए । राजनीतिक दलहरुको नामसमेत नलेखी पत्रमा ‘सबै राजनीतिक दल धरान नगर कमिटी’ लेखिएकोप्रति दलका नेताहरुले आपत्ति जनाएका थिए ।

कांग्रेस सभापति पोख्रेलले भने,‘नगर प्रमुखले सही गरेको पत्रमा राजनीतिक दललाई गरेको सम्बोधनमा कन्जुस्याई गरिएको छ । सबै राजनीतिक दल भन्ने होइन, दलको नाम छ । यहाँ हामीले जनप्रतिनिधि ज्यु भनेर पत्र पठाउदा हुदैन, नाम लेख्नै पर्छ ।’ जसपा नेपालका अध्यक्ष लिम्बु, माओवादी अध्यक्ष लिम्बुले पनि पत्रको सम्बोधनप्रति असन्तुष्टी जनाउदै राजनीतिक दलको नाम अनुसार पत्र पठाउनुपर्ने बताए । 

अर्को बैठकमा पहल समिति गठन गर्ने

राजनीतिक दलहरुले पुरानो अस्पतालको जग्गा फिर्ताको पहल गर्न सर्वदलीय समिति गठन गर्न सुझाव दिएपनि तत्काल समिति गठन भएन । विपी प्रतिष्ठानसमेत सहभागी भएको छलफलमा उक्त समिति गठन गर्न उचित नहुने भन्दै अर्को बैठक चाडै बोलाउने सहमतिमा बैठक सकिएको थियो ।

भिडियो: