धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज दिउँसो २ बजेको लागि आह्वान भएको छ ।
नगर प्रमुख हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमा बैठक आह्वानबारे राखेको पत्रमा २६ वटा एजेण्डा समावेश गरिएको छ । जसमा नीति तथा कार्यक्रम अनुमोदन गर्ने, बजेट सिलिङ पास गर्ने, ब्रेक डाउन भई आएका जति बजेट पास गर्नेदेखि कर्मचारी तह वृद्धि गर्ने, योजना अनुमोदन गर्ने, पालिका गान अनुमोदन गर्नेलगायत एजेण्डा छन् ।
ब्रेक डाउन भई आएका बजेटहरुमा विवादित बनेको मेयर भिजन र उपमेयर भिजनसमेत समावेश गरिएको छ । मेयर कोष र उपमेयर कोष पनि अलग्गै शिर्षकमा बजेट विनियोजन गरिएका छन् । मेयर र उपमेयर भिजन शिर्षकमा गत बर्षदेखि बजेट विनियोजन गर्न थालिएको हो । यो बर्ष मेयर र उपमेयर भिजनको नाममा बजेट विनियोजन गर्ने कि नगर्ने भन्ने विवाद कायमै छ ।
स्रोत अनुगमन तथा सिमा निर्धारण समितिमा सदस्य रहेका एमालेका जनप्रतिनिधिहरुले सहमति जनाएका छैनन् भने कांग्रेस, माओवादीले सहमति गरेर हस्ताक्षर गरिसकेका छन् । एमालेको असहमतिबीचमा नै वडामा उपमहानगरले बजेट सिलिङ पठाएको थियो । कार्यपालिका सदस्यहरुले कार्यपालिकाबाट सिलिङ अनुमोदन नगरि कसरी वडामा पठाएको भनेर फेसबुकमा नै असन्तुष्टीसमेत जनाएका थिए । एमालेले मेयर भिजन र उपमेयर भिजन नभनेर नगर गौरवको योजना वा अरु नाम दिएर तिनै योजनाहरुलाई समावेश गर्नुपर्ने धारणा राखेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।
स्रोत अनुगमन तथा सिमा निर्धारण समितिले २ अर्ब २० करोडको बजेट तय गरेको छ । यो बजेट उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजेट तर्जुमा समितिले बुझाएको प्रतिवेदन भन्दा बढी हो । उक्त समितिले १ अर्ब ६० करोड हराहारीमा बजेट बनाउन सुझाव दिएको थियो । सिमा निर्धारण समितिले भने २ अर्ब २० करोड ७४ लाखको बजेट बनाउने निर्णय गरेको छ ।
असार १० गतेभित्र नगरसभा गरेर बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भएपनि धरानले अहिलेसम्म बजेट पास गर्न सकेको छैन । असार ८ गते भएको कार्यपालिका बैठक विधिसम्मत नभएको भन्दै उपमेयरसहित कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले पत्र बुझाएपछि स्थगित भएको थियो भने असार ३२ गते पुनः कार्यपालिका बैठक बसेपनि बजेट सम्बन्धी एजेण्डा समावेश भएको थिएन ।