धरान: जेन्जी आन्दोलनको उद्देश्य विपरीत धरानमा भएको तोडफोड, लुटपाट, आगजनी र जघन्य अपराधमा परिचित प्रतिनिधि र पात्रलाई तुरुन्त नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाउन सर्वपक्षीय नागरिक बचाउ अभियान २०८२ ले माग गरेको छ ।
अभियानले आज (शनिबार) अपिल जारी गर्दे यस्तो माग गरेको हो । भदौ २४ गते आन्दोलन सफल भइसकेपछि जेन्जी युवाहरुले भानुचोकमा साढे ४ बजे समापन घोषणा गरेपछि केही अपराधिक मानसिकता बोकेका झुण्डले प्रतिशोध साध्ने नियतले पार्टी कार्यालयहरु, व्यवसायिक भवन (भाटभटेनी), नागरिक अगुवाहरुको व्यक्तिगत सम्पत्तिमा तोडफोड गरि लुटपाट मच्चाएको घटनाप्रति पनि अभियानले घोर भत्र्सना पनि गरेको छ ।
अभियानले ती घटनाहरुमा श्रमअभियानका अगुवा मेयर हर्क साम्पाङका बिशेष सहयोगी रहेका स्वतन्त्र नागरिक समाजका सदस्य मिलन बान्तवा राईको नेतृत्व रहेको उनले पनि स्वीकार गरिसकेकोले सबैको ध्यानाकर्षण पनि अपिलमा गराइएको छ । ‘संलग्न जो कोहीलाई कानुन अनुसार हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जोडदार माग गर्दछौं,’ अपिलमा भनिएको छ । भिडियोहरुमा माइक बोकेर तोडफोडको निर्देशन दिदै गरेको सार्वजनिक भएपछि फेसबुकमा भिडियो पोष्ट गर्दै मिलनले अन्यत्र गएको स्वीकार गरेपनि भाटभटेनीमा भने आफु नगएको बताएका छन् ।
यो घटनापछि धरानमा आमजनताहरुमा सुरक्षाको कारणले पैदा भएको डर, त्रासप्रति २० वटै वडाका क्रियाशिल व्यक्तित्व र नागरिक अगुवाहरु सम्मिलित सर्वपक्षीय नागरिक बचाउ अभियान गठन गरी शान्ति सुरक्षा कायम गराउन लागिरहेको पनि अपिलमा उल्लेख गरिएको छ । ‘साथै सबै नगरबासीहरुमा एकजुट भएर सुरक्षार्थ खटिनको लागि अपिल समेत गर्न चाहन्छौं,’ अपिलमा भनिएको छ ।
नगरमा उत्पन्न बिषम परिस्थितिमा जननिवार्चित प्रतिनिधि नगर प्रमुख बेखर झैं लाग्ने गरि व्यक्तिगत सरोकारको स्टाटस् मात्र पोष्ट गर्नुबाट उनको उद्देश्य र सरकोकार प्रष्ट देखिने पनि अपिलमा उल्लेख छ । अभियानले जेन्जी आन्दोलनमा शाहदात प्राप्त गर्ने १९ जना युवाहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गरेको छ । साथै जेन्जी युवाहरुले उठाएको जनपक्षीय मागहरु सम्बोधन हुनुपर्छ भन्ने कुरामा सहमत रहेको भन्दै अभियानले जेन्जीहरुको माग संविधान अनुरुप नै पुरा हुनुपर्छ भन्नेमा स्पष्ट रहेको पनि उल्लेख छ ।