धरान: जेन जी आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाएकाहरुको सम्झनामा बुधबार धरानमा दीप प्रज्वलन गरिएको छ ।
विभिन्न संघसंस्थाहरुले धरानको विभिन्न ठाउँहरुमा दीप प्रज्वलन गरि सहिदहरुको सम्झना एवं श्रद्धाञ्जली दिएका हुन् । नेपाल सरकारले बुधबार शोक विदासमेत दिएको थियो । धरान खेलकुद मञ्चले उपमहानगरपालिका अघि श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । मञ्चको आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा खेलाडीहरु, खेलकुदकर्मीहरु सहभागी थिए ।
मञ्चका अध्यक्ष किसोर राईले सहिद भएकामध्ये एक जना क्रिकेट खेलाडी पनि भएको जानकारी दिए । भ्रष्टचार र कुशासनको अन्त्य जेनजीहरुको मुख्य एजेण्डा पुरा होस् भन्ने कामना गर्दै श्रद्धाञ्जली दिइएको पनि उनले बताए । यस्तै, धरानको भानुचोकमा लायन्स इन्टरनेसनल र लियो इन्टरनेसलनको तर्फबाट सम्पुर्ण क्लबहरु उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । दुई दिनको आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा श्रद्धाञ्जली दिइएको लायन धिरज गुरुङले जानकारी दिए ।
यस्तै, भानुचोकमा नै द नेक्स्ट जेनेरेसन युथ नामक युवाहरुले पनि श्रद्धाञ्जली दिएको छ । युवाहरुले काठमाण्डौंमा आन्दोलनको क्रममा ज्यान गुमाएका सहिद धरान ५ निवासी स्वर्गीय साजन मेवाहाङ राईको परिवारलाई भोली (बिहिबार) आर्थिक सहयोग गर्ने पनि जनाएको छ । युवाहरुले डोनेसन बक्समार्फत सहयोग जुटाएको र उक्त सहयोग हस्तान्तरण गर्ने युवा सुभ भण्डारीले जानकारी दिए ।