धरान: धरानका संगीतकर्मीहरु मिलेर स्थापना गरेको धरान संगीत प्रतिष्ठानको पनि भवन निर्माण हुने भएको छ । 

दाताहरुको सहयोग जुटाएर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतिष्ठानको भवनको हिजो मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले शिलान्यास गरेका थिए । प्रतिष्ठानको अध्यक्ष धरानको वडा नं २ का अध्यक्ष रमेश राई छन् भने नगर प्रमुख पदेन संरक्षक रहने व्यवस्था गरिएको छ । 

धरान वडा नं २, ३ र १४ को सिमाना पर्ने मेरिगोल्ड स्कुल नजिकैको जग्गामा भवनको शिलान्यास गरिएको हो । उक्त जग्गामा प्रतिष्ठानको भवन निर्माण गर्न दिने कार्यपालिका बैठकले निर्णय गरेको थियो । प्रतिष्ठानका अध्यक्ष राईले भवन निर्माण भएपछि भविष्यमा गीत, संगीत सिक्ने केन्द्रकोरुपमा विकास गर्ने उनले बताए । 

music academy1

साथै, भवन निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले माघ २९ गते राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरि हाउजी बिंगोसहितको कार्यक्रम गर्ने पनि जानकारी दिए । अध्यक्ष राईका अनुसार उक्त कार्यक्रममा चर्चित गायक शम्भु राई र दिप श्रेष्ठको प्रस्तुती हुनेछ । 

नगर प्रमुख राईले गीत, संगीतसँग आफु पनि नजिकबाट जोडिएको बताए । उनले नगरपालिकाले अपनत्व लिएको र आगामी बजेटमा रकम विनियोजन गर्ने पनि बताए । धरान उपमहानगरले गीत, संगीतको क्षेत्रमा पनि लगानी गर्ने काम भइरहेको उनको भनाई थियो । भवन निर्माण भइसकेपछि व्यक्तिगतरुपमा प्रयोग नभै सार्वजनिक हितमा उपयोग हुनुपर्ने पनि नगर प्रमुख राईले बताएका थिए । 

शिलान्यास कार्यक्रममा वडा नं ३ का अध्यक्ष विद्या शाक्य, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, कार्यपालिका सदस्य विनिता बज्रचार्य, वडा २ का सदस्यहरु र श्रम सँस्कृति पार्टीका प्रवक्ता सत्य घले, प्रतिष्ठानका पदाधिकारी तथा संगीतकर्मीहरुको पनि उपस्थिति रहेको थियो । 


भिडियो: