धरान: धरानका गीत, संगीतकर्मीहरुको साझा संस्था धरान संगीत प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ ।

धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा शुक्रबार प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको हो । एक कार्यक्रमबीच मेयर हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । सार्वजनिक पुस्तकालयको भवन धरान उपमहानगरपालिकाको हो । प्रतिष्ठानले नयाँ भवन निर्माण नगरेसम्म कार्यालय सञ्चालनको लागि उपमहानगरपालिकाले पुस्तकालयको माथिल्लो तला उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । प्रतिष्ठानले उपमहानगरपालिकाका मेयर संरक्षक रहने व्यवस्था गरेको छ ।

अध्यक्ष राईले प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्न जग्गा खोजी भइरहेको बताए । वडा नं १ को कार्यालयसँगै जोडिएको जग्गा हेरेको जानकारी दिदै उनले मेयर साम्पाङसँगै समय मिलाएर उक्त जग्गा हेर्न जाने पनि बताए । जग्गा भेटिएमा प्रतिष्ठानको भवनसँगै वरिष्ठ गायक दिप श्रेष्ठ ट्रष्ट पनि त्यहीबाट सञ्चालन गर्ने योजना रहेको उनले खुलाए । मेयर साम्पाङले पनि प्रतिष्ठानको आफ्नै स्वामित्वको भवन बनाउनुपर्ने बताए । आफुसहितका जनप्रतिनिधिहरुले कला, साहित्य र संगीतको कुरा गरेपनि बजेट निर्माण गर्ने बेला सडक बनाउन मात्र ध्यान दिइने गरिएको बताए ।

music academy2

प्रतिष्ठानको संस्थापक एवं परिकल्पनाकार अजय राईले आफु विदेशबाट फर्केपछि सामाजिक काम गर्ने उद्देश्यले धरान स्वतन्त्र समाज र संगीत प्रतिष्ठान जन्माएको बताए । गीत, संगीतमा लाग्न चाहनेहरुलाई एउटै छातामुनि समेट्न २०६९ मा प्रतिष्ठान जन्माएको उनले स्मरण गर्दै जग्गा व्यवस्थापन हुन सकेमा भवन बनाउन विदेशबाट आर्थिक सहयोग आउने पनि बताए । 

कार्यक्रममा चाडै क्यानाडा जान लागेका गायक एपी शेर्पाको विदाई पनि गरिएको थियो । उनलाई मेयर साम्पाङले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए भने गीतकार मीना सिंगकले सिलाम साक्ला प्रदान गरेकी थिइन् । परिवारले पिआर पाएको र आफ्ना नानीहरुलाई सेटल गराउन मात्र आफु केही बर्षको लागि क्यानाडा जान लागेको उनले बताए । पछि नेपाल नै फर्कने खुलाउदै उनले प्रतिष्ठानको भवन निर्माण हुने भएमा १ लाख सहयोग गर्ने पनि बताए । 

ap sherpa

सोही कार्यक्रममा गत विश्व संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमको हिसाब पनि सार्वजनिक गरिएको थियो । धरान १५ स्थित चुम्लुङ भवनमा डिनरसहितको भव्य सम्मान तथा सांगीति कार्यक्रममा ४ लाख ७५ हजार ८ सय आम्दानी भएको र ५ लाख ३५ हजार ८ सय ३० रुपैया खर्च भएको प्रतिष्ठानले जानकारी दिएको छ । उक्त कार्यक्रममा ६० हजार ३० रुपैया पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत खर्च गरेको र विभिन्न दाताहरुले वचन दिएको रकम ४७ हजार ५ सय उठ्न बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । यसैगरि, पुस्तकालयको माथिल्लो तलामा कार्यालय व्यवस्थापनको लागि छाना, बिजुली, रंगरोगन, फर्निचर लगायतमा १ लाख ८ हजार ५५ खर्च भएको र उक्त रकम पनि व्यक्तिगतरुपमा नै भएको सचिव राजा श्रेष्ठले जानकारी दिए । 

भिडियो:

भिडियो: