धरान: सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) फाइनल प्रवेश गरेको छ ।
धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय कार्यालयको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई ३-० गोलअन्तरले हराउदै आयोजक रातो उपाधि नजिक पुगेको हो ।
पुलिसको जितमा विप्लव थापा, समिर राई र विकास मगरले एक एक गोल गरेका थिए । दोस्रो हाफको ४६ औं मिनेटमा जर्सी नं १७ का विप्लवले पुलिसको लागि पहिलो गोल गर्दै खाता खोलेका थिए भने जर्सी नं १० का कप्तान समिर राईले दोस्रो गोल गरे । खेलको इञ्जुरी समयमा जर्सी नं ७ का विकास मगरले गोल थपेपछि खेलमा ३-० को नजिता निकाल्दै पुलिस रातो फाइनल प्रवेश गर्यो । 
खेलको म्यान अफ दि म्याच नेपाल पुलिसका जर्सी नं ७ का विकास मगर घोषित हुदै नगद १ हजार ५ र मेडल हात पारे । उनलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी भीषणबाबु राईले पुरस्कार प्रदान गरेका थिए । यस्तै, सिद्धार्थ सेकेण्डरी स्कुललाई सहभागिताको प्रमाणपत्र विद्यालयकी प्राचार्य मनिका सुब्बा राईले प्रदान गरेकी थिइन् ।
विशेष अतिथि डिएसपी राईलाई विद्यालय समादेशक तथा प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेश कुमार हायूले प्रदान गरेका थिए । प्रतियोगितामा भोली (बिहिबार) दोस्रो सेमीफाइनल खेल प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान र पिनाकल ज्ञान मन्दिर सुन्दरहरैँचा मोरङबीच दिउँसो १ बजे हुने आयोजकले जानकारी दिएको छ ।







