धरान: अंग्रेजी नयाँ बर्ष २०२६ लाई स्वागत गर्दै भारतीय पर्यटकहरुलाई लक्षित गरेर आयोजना भएको १३ औं भेडेटार फुड फेस्टिवल शुरु भएको छ ।
तीन दिनसम्म आयोजना हुने फेस्टिवलको बुधबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए । मन्त्री मण्डलले फुड फेस्टिवलसँगै कृषि मेला प्रर्दशनीको पनि उद्घाटन गरेका थिए ।
फुड फेस्टिवलमा पर्यटकहरुलाई लक्षित गरेर खानाको विभिन्न परिकारहरुको स्टल राखिएका छन् भने कृषि प्रर्दशनीमा साँगुरीगढी गाउँपालिकाको विभिन्न वडाका कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु प्रर्दशनमा राखिएको छ ।

अंग्रेजी नयाँ बर्ष मनाउन भारतीय पर्यटकहरुलाई आकर्षित गर्ने साथै उनीहरुको बसाई लम्ब्याउने उद्देश्यले होटल एशोसिएशन भेडेटारले तीन दिने फुड फेस्टिवल आयोजना गर्दै आएको छ ।
लेकसाइडमा जस्तै रात्रीबजार सञ्चालन गर्न सहयोग गछौं : मन्त्री मण्डल
उद्घटन समारोहका प्रमुख अतिथि एवं प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री मण्डलले जनताको शासन आइसकेकोले अब आन्दोलनहरु रोकिनुपर्ने बताए । उनले बेला बेला भइरहने आन्दोलनले नेपालको अन्तराष्ट्रिय छवि पनि बिग्रने र यसले पर्यटनसँगै अर्थतन्त्रमा ठुलो असर परिरहेको बताए ।
'जनताको शासन आइसकेको छ । हामी पनि गाउँबाट नै आएको होइन ? जितेन्द्र जि (साँगुरीगढीका अध्यक्ष) पनि गाउँबाटै आउनुभएको होइन ?,' मन्त्री मण्डलले जेन जी आन्दोलनप्रति संकेत गर्दै भने,' कही कतै काम गडबड छ भने सुधार गर्ने प्रयत्न गरौं । तर घर जलाएर के पाउनुहुन्छ, कार्यालय जलाएर के पाउनुहुन्छ, आज उहाँ(जितेन्द्र)को कार्यालय हो, भोली तपाई आएर बस्नुहुन्छ ।'

मन्त्री मण्डलले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि सोच लिएर अगाडि बढ्नुपर्ने बताए । सरकारले पर्यटन पुर्वाधार निर्माणको काम गरिरहेको पनि उनले बताए । भेडेटारमा रात्रीबजार खुला गराउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै मन्त्री मण्डलले गाउँपालिकाले शान्तिसुरक्षाको पनि जिम्मा लिने भए सरोकारवाला निकायसँग बैठक राखेर निर्णय गर्ने पनि बताए ।
'पोखराको लेकसाइड जसरी राती बजार खुल्ला गर्न मेरो पनि भुमिका रहनेछ । गाउँपालिका अध्यक्षले बैठक राख्नुस्, भेडेटारबासी, युवाहरुले शान्तिसुरक्षाको जिम्मा लिनुपर्यो,' मन्त्री मण्डलले भने, 'म कोशीप्रदेश सरकारमा रहेका मुख्यमन्त्री लगायत प्रदेश प्रहरी, उच्च पदस्थ कर्मचारी ल्याएर बैठक बस्ने काम मेरो जिम्मा भयो ।'

भेडेटार जस्ता पर्यटकीयस्थलको प्रचारप्रसार पर्याप्त हुनसकेमा प्रर्वद्धन हुने र राष्ट्रिय पुजी निर्माण हुने मन्त्री मण्डलको भनाई थियो । भेडेटारको प्रवेशद्धारमा पुर्वी पहाड, हिमाल झल्कने गरि निर्माण गर्न सुझाव दिदै मन्त्री मण्डलले बजेट अर्को बर्ष नपर्खने भन्दै यही बर्ष बजेट व्यवस्था गर्ने वचन पनि दिए । सरकारले कृषि र पर्यटनलाई मेरुदण्डकोरुपमा अघि बढाउने उद्देश्य लिएको र यसैबाट राष्ट्रिय पूजी निर्माण गर्न अहंम भुमिका रहने पनि बताए ।
कोशी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री निरन राईले भेडेटारमा थ्रीस्टार लेभलको होटल, व्यवस्थित पार्किङ सहितको मल बनाउन लगानीकर्ताले चासो दिएको तर जेनजी आन्दोलन पछि लगानीकर्ता हच्किएको बताए । यद्यपी लगानीको वातावरण बनाउन सबैले समन्वय र सहकार्य गरेर जानुपर्ने उनले बताए । उनले भेडेटारमा रात्रीकालिन बजार सञ्चालनको लागि सबैको पहल र एकताको खाँचो रहने पनि बताए । उनले धनकुटा र पुर्वी पहाडको नाका पनि भएकोले भेडेटारमा पहिचान झल्काउने गरि स्वागत गेट बनाउन बजेट विनियोजन गर्न मन्त्रालयसँग माग गरेका थिए ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले भेडेटार फेस्टिवल जस्ता कार्यक्रमहरु महिनैपिच्छे आयोजना हुनुपर्ने धारणा राखे । धनकुटाको सबै पालिकाहरु आर्थिकरुपमा आत्मनिर्भर हुने बाटोमा गएको खुलाउदै मेयर तामाङले भेडेटार आउने पर्यटकहरुलाई नाम्जे, डाडाबजार, धनकुटा बजार पनि पुग्ने वातावरण बनाउनुपर्ने बताए ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले पालिकाले पर्यटन प्रवर्द्धन एवं विकासमा उच्च प्राथमिकता दिएको बताए । साथै उनले कृषिलाई पनि प्रर्वद्धन एवं प्रोत्साहन गर्न फेस्टिवलमै कृषि प्रर्दशनी गरिएको बताए ।

पालिकाका कृषकहरुको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी गरिएको र कृषकहरुलाई प्रोत्साहन गर्न पुरस्कृत पनि गरिने अध्यक्ष रुम्दानीले बताए । 'हामी कृषि र पर्यटनलाई सङ्गै जोडेर अघि बढाउन चाहन्छौं, तब मात्र आर्थिक उन्नति गर्नसक्छौं,' उनले भने, 'सागुरीगढीदेखि खुवालुङ पदमार्ग पनि चाडै उद्घाटन गर्नेछौं । नाम्जे, थुम्की र डाँडाबजारमा होम स्टे राम्रो चलेको छ, आहालेमा पनि राई जातिको मौलिकता, सँस्कृति समेटेर सुरु गर्ने सोचमा छौं ।'
उनले टुरिज्म सर्किट बनाउन चाहिरहेको खुलाउदैे पर्यटनमा लगानी बढाईदिन प्रदेश सरकारसँग आग्रह पनि गरे । उद्घाटन समारोहलाई जिल्ला समन्वय समिति उपप्रमुख सावित्री राई, पाख्रिबास नगरका प्रमुख ज्ञानबहादुर गुरुङ, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयी सन्तोषी राई, राजनीतिक दलहरुको तर्फबाट जसपा नेपालका धनकुटा अध्यक्ष दिवा चेम्जोङले पनि सम्बोधन गरेका थिए ।

सोही समारोहमा पर्यटन क्षेत्रको विकासको लागि पत्रकारिता क्षेत्रबाट योगदान पुर्याएको कदर गर्दै सुनसरी धरानका पत्रकार रोहितकुमार बस्नेत डेबिट (रेडियो गणतन्त्र) र धनकुटाका नारायण राई (रासस) लाई जनही नगद १० हजारसहित सम्मान गरिएको थियो।
भिडियो:
भिडियो:







