धरान: यु १८ चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ ।
रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटवल संघ र धरान मेघा हिमालयन कलेजले आज बुधबार पत्रकार सम्मेलन गर्दै आगामी माघ ६ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरुको सहभागिता रहने संघका अध्यक्ष नारायण सुवेदीले बताए ।
उनका अनुसार धनकुटा जिल्लामा पनि बास्केटवल खेलिने भएकोले त्यहाँबाट पनि विद्यालय सहभागीता गराउन पहल भइरहेको छ । आगामी बर्षहरुमा इलाम र उदयपुरबाट पनि विद्यालय सहभागी गराउन प्रयास गर्ने र प्रतियोगितालाई प्रदेशस्तरीय बनाउने अध्यक्ष सुवेदीले बताए ।
प्रतियोगितामा कक्षा १० सम्म मात्र पढाई हुने विद्यालयबाट १२ जना खेलाडी नै कक्षा १० सम्मका सहभागी हुन पाउनछन् । तर, प्लट टु पनि रहेको विद्यालयबाट भने कक्षा १० सम्मका ६ जना खेलाडी र कक्षा ११ र १२ का ६ जना खेलाडीहरुले भाग लिन पाउने संघका अध्यक्ष सुवेदीले बताए । प्रतियोगिताको फाइनल अघि थ्रि पोइन्ट प्रतियोगिता पनि हुने र एक मिनेटमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडीलाई पुरस्कृत गरिने पनि उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उदयीमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । यो बर्ष पुरस्कार राशी पनि वृद्धि गरिएको धरान मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलले जानकारी दिए । त्रिपक्षीय सम्झौता गरेर शुरुवात गरेको प्रतियोगितालाई प्रदेशस्तरीय बनाउन पहल गर्ने र निरन्तरता दिदै बास्केटवल प्रतियोगितामा बिशेष पहिचान दिलाउन पहल गर्ने प्रिन्सिपल पौडेलले बताए ।
डिपोट स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थी रेवाहाङ बास्केटवल खेलाडी थिए । उनको २०७७ माघ २० गते असामयिक निधन भएको थियो । उनको खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै परिवारले प्रतिष्ठान र अक्षयकोष स्थापना गरेर धरान मेघा हिमालयन कलेज, बास्केटवल संघसँग सहकार्य गरि प्रतियोगिता शुरुवात गरेको हो ।
रेवाहाङका बुबा एवं प्रतिष्ठानका अध्यक्ष रेवतीरमण राईले छोराको खेलप्रतिको लगावलाई सम्मान गर्दै उनको अधुरो सपनालाई पुरा गर्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘रेवाहाङको बास्केवटवल खेलप्रतिको लगाव थियो, उसको सम्मानमा र अधुरो रहेको सपना पुरा गर्न उनीजस्तै खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता शुरुवात गरिएको हो,’ उनले भने,‘रेवाहाङ अब हाम्रो परिवारको मात्र छोरा रहेन, यो समाजको, खेलाडी र खेलप्रेमीहरुको भयो ।’
भिडियो:







