एजेन्सी: जलवायु परिवर्तनले तीव्रता पाइरहेकै बेला अन्टार्कटिकामा हालसम्मै उच्च तापक्रम ६४।९ डिग्री फरेन्हाइट मापन गरिएको अर्जेन्टिनाको अध्ययनले देखाएको छ ।

अन्टार्कटिकाको ट्रिनिटी प्रायद्विप नजिकै रहेको एस्परान्जा बेसमा सो तापक्रम मापन गरिएको हो। यसअघि मार्च २०१५ मा त्यहाँको तापक्रम ६३।५ डिग्री फरेन्हाइट मापन गरिएको थियो ।

सन् २०१० को दशककै तातो जनवरी र सबैभन्दा तातो दशक मापन गरिएसँग अन्टार्कटिका पनि तापक्रम अत्यधिक मापन गरिएको हो ।

विश्वमै छिटो तापक्रम बढिरहेको क्षेत्रमध्ये अन्टार्कटिका पनि एउटा हो । जलवायु परिवर्तनले विश्वभर तापक्रम कीर्तिमान राखिरहेको बेला समाधानको उपाय खोज्नु निकै चुनौतीपूर्ण रहेको वैज्ञानिकहरूले बताएका छन् ।

एस्पराञ्जाले मापन गरेको तापक्रमलाई वल्र्ड मेटियोरोलोजिकलन अर्गनाइजेसन (डब्ल्युएमओ) प्रमाणित गर्न बाँकी छ । “अहिलेसम्म हाम्रो अध्ययन ठीक देखिन्छ तर यसको औपचारिक मूल्याङ्कन पक्कै हुनेछ,” डब्ल्युएमओको वेदर एन्ड क्लाइमेट एक्स्ट्रिम्स र्‍यापपोर्टर र्‍यानन्डल सर्भिनीले बताए ।

पृथ्वीको तापक्रम बढेसँगै अन्टार्कटिकाको ग्लेसियर तीव्र रूपमा पग्लिरहेको अध्ययनहरूले देखाएका छन्। विश्व समुद्र सतहमा यसले उल्लेखनीय वृद्धि गर्नेछ।डब्ल्युएमओले जनाए अनुसार सन् १९७९ र २०१७ बीच अन्टार्कटिकाको हिउँ पग्लिने क्रम वर्षेनी ६ गुणाले बढेको छ ।

आधा शताब्दीयता अन्टार्कटिका प्रायद्विपको पश्चित तटमा अनुमानित ८७ प्रतिशत ग्लेसियर पग्लिएको छ । तीमध्ये अधिकांश गएको १२ वर्षमा अझ धेरै पग्लिए। भविष्यमा पनि सो प्रायद्विपमा तापक्रम चरम बढ्ने अनुमान गरिएको छ ।