धरान: ‘विमल गुरुङ कृति पुरस्कार’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ । 

धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यबस्थापन समितिको बुधबार बसेको बैठकले खड्का र रानाको निबन्ध कृतिलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुस्तकालयले बर्षेनी प्रदान गर्दै आएको पुरस्कार राशी नगद दुइ लाख रुपैया र ताम्रपत्र रहेको छ । 

विमल गुरुङ कृति पुरस्कारका लागि स्वदेश र विदेशका लेखक, कवि साहित्यकारहरुले लेखेका नेपाली भषाका ५२ कृति प्राप्त भएको पुस्तकालयले जनाएको छ । ती पुस्तकहरुमध्ये निर्णयक मण्डलले पहिला श्रेष्ट १० कृति छनौट गरेर अन्तिममा दुई निबन्ध कृतिलाई संयुक्तरुपमा विमल गरुङ कृति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले जानकारी दिए । 

दुवै कृतिका सर्जकहरुलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङले बताए । उक्त अवसरमा पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोद्धारा सम्पादित संयोजित ‘विमल गुरुङका प्रतिनिधि कविताहरु’ कविता संग्रहको पनि लोकापर्ण गरिने सचिव चन्द्र गुरुङले बताए ।

उक्त अवसरमा पुस्तकालयले यसअघि छनौट गरेका उत्कृष्ट १० कविता मध्येबाट विजेता तीनजनालाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । कवितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः नगद २१ हजार रुपैया, १८ हजार रुपैया र १७ हजार रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ । कविता महोत्सवमा विमल गुरुङ स्मृति पुस्तकालयले यो बर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) का सुनसरी प्रतिनिधि संगिता राई (स्वर्णिम) लाई प्रदान गर्ने पनि निर्णय गरेको छ ।